काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गर या मरको खेलमा नेपालले फेरि पनि १५७ रनमात्र बनाएको छ । त्रिकोणात्मक श्रृंखलाको पहिलो भिडन्तमा नामिबियासँग ८ विकेटको निराशाजनक हार बेहोर्ने क्रममा १५७ रनमै रोकिएको नेपालले दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग पनि १५७ रन नै बनाएको हो ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४४ ओभर ४ बलमा अलआउट हुँदै उक्त योगफल बनाएको हो । ७५ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन जोडे । त्यस्तै गुल्सन झाले २९ तथा दिपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।
रोलोफ भान डर मार्वे र एलेक्स रोएले समान ३ विकेट लिए । यो खेल जित्दा नेपालको विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जिवितै रहन्छ भने हारले केवल अंकगणितीय सम्भावना मात्रै रहने हो ।
लिग-२ को अंक तालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक छ। राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन्।
नेदरल्याण्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने अमेरिका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान चौथो स्थानमा छन्।
विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका बाँकी सातै खेल अत्यन्तै निर्णायक छन्।
यद्यपि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ।
यस शृङ्खलामा नेपालले साउन ११ गते पुनः नामिबियासँग तथा साउन १३ गते फेरि नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ।
नेपाली टोलीले अघिल्लो हारको समीक्षा गर्दै आज नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण दुई अंक बटुल्ने अपेक्षा गरिएको छ।