एसएलआरका छ राउण्ड गोलीसहित काठमाडौँबाट विकास महर्जन पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
759
Shares
काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट एसएलआर राइफलमा प्रयोग हुने छ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१ नक्साल ज्यापुटोल स्थायी घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी टेलिकम नजिक डेरा गरी बस्दै आएका ४३ वर्षीय विकास महर्जन छन्।
प्रहरीका अनुसार ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशंकाका आधारमा प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले महर्जन बस्दै आएको डेरा कोठामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कोठाभित्रबाट एसएलआर राइफलमा प्रयोग हुने छ राउण्ड गोली फेला परेपछि प्रहरीले गोली बरामद गरी महर्जनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका महर्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।