दक्षिण–पूर्व एसियाली स्क्यामिङ सेन्टरबाट आठ सय साठी नेपालीको उद्धार
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
132
Shares
काठमाडौँ । दक्षिण–पूर्व एसियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपाली नागरिकको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको जानकारी दिएका छन्।
उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्याण्डबाट रहेका छन्। प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियामा अझै ४९ जना नेपाली विभिन्न अभियोगमा कारागारमा रहेका छन् र उनीहरूलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली राजदूतावासमार्फत समन्वय भइरहेको छ।
उक्त क्षेत्रमा प्रतिबन्धित काममा जाने क्रम नरोकिएको र प्रक्रिया पूरा भइसकेका केही व्यक्तिसमेत फर्कन अनिच्छुक देखिएकोप्रति मन्त्रालयले चासो व्यक्त गर्दै चारवटा बुँदामा विशेष आग्रह जारी गरेको छ। स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरूको यथार्थ विवरणसहित कारबाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरीलगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीहरूलाई परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छुट गराइसकेका व्यक्तिहरूलाई तुरुन्त फर्कन आग्रह गरिएको छ।
साथै जेलबाट छुटाइदिने बहानामा रकम सङ्कलन गर्ने गिरोह सक्रिय रहेको पाइएकाले त्यस्ता भ्रममा नपर्न र आधिकारिक जानकारीका लागि कन्सुलर सेवा विभागमा मात्र सम्पर्क गर्न मन्त्रालयले सचेत गराएको छ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई दक्षिण–पूर्व एसियाका अवैध स्क्यामिङ सेन्टरहरूमा पुर्याउने र बन्धक बनाउने क्रम बढ्दो रहेकाले यसको रोकथामका लागि मन्त्रालयले निरन्तर समन्वय र उद्धारको पहल जारी राखेको छ।