मुगुमा पहिरोमा परेर तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
216
Shares
काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर खसेको पहिरोमा परि तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गरी बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको बेला माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो।
घटनामा सामान्य चोट लागेका जगनाथ र सृजना आफैँ उपचारका लागि पुलु स्वास्थ्य चौकी पुगेका थिए र उनीहरूको अवस्था सामान्य रहेको छ।
पहिरोमा च्यापिएका बालक रमेश बडुवाललाई प्रहरी र स्थानीयवासीले उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याएकोमा उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।
पहिरोले उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घटनास्थल आसपासका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन्। जोखिममा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई पुलु बजारस्थित आफन्तको घर तथा स्वास्थ्य चौकीमा अस्थायी आश्रय दिइएको प्रहरीले जनाएको छ।