झापाको साविक बुधबारे,जयपुर गाउँमा आज पनि बूढापाकाहरू गफिँदा एउटा नाम अनायास निस्कन्छ—त्यो नाम हो, पाटने कान्छा दाइ। उनी कुनै राजनीतिक नेता थिएनन्, न त आन्दोलनका अगुवा। उनको नाम कुनै इतिहासको किताबमा लेखिएको छैन। तर प्रजातन्त्रप्रतिको आशा, सम्मानको खोजी र भोकको कठोर यथार्थलाई बुझ्न चाहनेहरूका लागि उनको जीवन आफैंमा एउटा सानो इतिहास हो।
गाउँका धेरै मानिसका कथा समयसँगै मेटिए , धेरै घटनाहरू स्मृतिबाट हराए, तर कान्छा दाइको कथा भने अझै जीवित छ। किनकि त्यो कथा केवल एक व्यक्तिको कथा नभई , त्यो एउटा युगको मनोविज्ञानको कथा हो। कान्छा दाइ गाउँका गरिब मजदुर थिए।
बिहान उज्यालो हुनुअघि उठ्ने, अरूको खेत जोत्ने, गोठालो गर्ने, घाँसदाउरा गर्ने र साँझ थाकेको शरीर लिएर घर फर्किने—उनको जीवन यही चक्रमा घुम्थ्यो।
उनीसँग न जमिन थियो, न स्थायी आम्दानी। वर्षभरि काम गरे पनि कहिल्यै आर्थिक सुरक्षा थिएन। कहिले धानको ज्याला, कहिले मकै, कहिले नगदका केही रुपैयाँ—यही उनको आयको स्रोत थियो। तर उनीसँग एउटा कुरा थियो—भोलि आजभन्दा राम्रो होला भन्ने आशा।
उनको जीवनमा अभाव धेरै थिए। घरको छानो वर्षामा चुहिन्थ्यो। चाडपर्व आउँदा नयाँ कपडा किन्ने सामर्थ्य हुँदैनथ्यो। बिरामी पर्दा गाउँकै झाँक्री वा घरेलु उपचारमा भर पर्नुपर्थ्यो। तर यति हुँदाहुँदै पनि उनी निराश मानिस थिएनन्।
गाउँका मानिसहरू भन्थे, “कान्छा गरिब त हो, तर मनले धनी छ।” उनी हाँस्न जान्दथे, अरूलाई सहयोग गर्न जान्दथे, र भविष्यप्रति आशावादी रहन्थे।
२०४६ सालको जनआन्दोलनले देशको राजनीतिक दिशा बदलिसकेको थियो। तीस वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय लोकतन्त्र पुनःस्थापित भएको थियो। गाउँ–गाउँमा राजनीतिक दलहरू सक्रिय भएका थिए। नेताहरू जनतामाझ पुगिरहेका थिए । समानता, अधिकार, स्वतन्त्रता र नयाँ नेपालको सपना हरेक भाषणको केन्द्रमा थियो।
त्यो समयको वातावरण नै फरक थियो। रेडियोमा राजनीतिक समाचारहरू बढी सुनिन्थे। गाउँका चिया पसलहरूमा संविधान, चुनाव र दलहरूको चर्चा हुन्थ्यो। धेरै मानिसहरूले पहिलोपटक आफूलाई देशको राजनीतिक प्रक्रियासँग जोडिएको महसुस गरेका थिए। लोकतन्त्र केवल एउटा शासन व्यवस्था थिएन, त्यो धेरैका लागि आशाको केन्द्र बनेको थियो।
त्यही परिवेशमा आयो २० बैशाख २०४७।
त्यो दिन जयपुर गाउँमा नेकपा एमालेको चुनावी प्रचारको विशेष चहलपहल थियो। खेतका आली, चौतारी र चिया पसलहरूमा एउटै चर्चा थियो—प्रजातन्त्र र चुनाव। मानिसहरू उत्साहित थिए। धेरैका लागि यो पहिलोपटक आफ्नो मतमार्फत देशको भविष्य निर्धारण गर्ने अवसर थियो।
गाउँका युवाहरू झण्डा बोकेर हिँडिरहेका थिए। महिलाहरू पनि राजनीतिक सभामा सहभागी हुन थालेका थिए। बूढापाकाहरूले विगतका शासन व्यवस्थासँग तुलना गर्दै नयाँ व्यवस्थाको चर्चा गरिरहेका थिए। सबैलाई लागिरहेको थियो—अब केही न केही परिवर्तन अवश्य हुनेछ।
त्यसै दिन बिहान पाटने कान्छा दाइ गाउँको एक खेतमा हलो जोतिरहेका थिए। गोरुहरू बिस्तारै अघि बढिरहेका थिए। भर्खरै जोतिएको माटोको गन्ध हावामा फैलिएको थियो। घाम चर्किन थालेको थियो र उनको शरीर पसिनाले भिजिसकेको थियो।
उनी आफ्नो काममा मग्न थिए। राजनीति र चुनावका कुरा सुनेका थिए, तर त्यो दिनसम्म ती कुरा उनको दैनिक जीवनभन्दा धेरै टाढाका विषयजस्ता लाग्थे। उनलाई मुख्य चिन्ता बेलुकाको खाना र भोलि फत्ते गर्नुपर्ने कामको थियो।
त्यही बेला एमाले उम्मेदवार देबीप्रसाद ओझा चुनाव प्रचारका क्रममा त्यहाँ आइपुगे। गाउँका केही मानिसहरू कान्लामा उभिएर हेर्दै थिए। सामान्यतया नेताहरू खेतमा काम गरिरहेका मजदुरसम्म पुग्दैनथे। उनीहरूलाई भेट्न मानिसहरू नै सभास्थलमा जानुपर्थ्यो। तर त्यो दिन दृश्य फरक थियो।
ओझा सिधै खेतको गराभित्र पसे। उनले पुरानो र अलिअलि टालेको कुर्था सुरुवाल लगाएका थिए ।
उनी सिधै हलो जोतिरहेका कान्छा दाइतिर गए।
“ काम कस्तो छ, कामरेड? ” उनले मुस्कुराउँदै सोधे ।
त्यसपछि उनले कान्छा दाइको हात समाते बेसरी हात मिलाए । काँधमा थपथप पनि पारे । त्यो सामान्य हात मिलाइ थिएन।
त्यसताकाका वामपन्थी कार्यकर्ताले गर्ने गरेको आत्मीय, दृढ र समान भाव झल्काउने हात मिलाइ थियो। खेतको हिलो लागेको हातलाई कुनै संकोचबिना समातिएको थियो।
ओझाले भने, “अब यो देशमा मालिक र नोकर भन्ने हुँदैन। प्रजातन्त्र आएको छ। किसान, मजदुर र नेता सबै बराबर हुन्छन्।”
त्यो वाक्य कान्छा दाइको मनभित्र गहिरोसँग गढ्यो । उनले जीवनमा धेरै मानिसका आदेश सुनेका थिए। धेरैका लागि काम गरेका थिए। तर पहिलोपटक कुनै नेताले उनलाई ‘साथी’ भनेर सम्बोधन गरेका थिए। पहिलोपटक कसैले उनको हात त्यसरी समातेको थियो, जसमा विचरा भनेर दयाभाव थिएन, हेपाइ थिएन, बरु समानताको संकेत थियो।
त्यो क्षण उनको आँखामा चमक देखिएको थियो।
उनी केही क्षण बोल्नै सकेनन्। खेतको बीचमा उभिएर उनले आफूलाई अचानक महत्वपूर्ण व्यक्तित्व महसुस गरे। उनलाई लाग्यो, देश साँच्चै बदलिँदै छ। यदि नेता र मजदुर बराबर हुन् भने अब आफ्नो जीवन पनि बदलिन सक्छ।
पछि गाउँका मानिसहरूले सम्झन्थे—त्यो दिन कान्छा दाइ साँझसम्म निकै खुसी देखिएका थिए। घर फर्किएपछि उनले धेरैलाई यो शन्देश सुनाए, “अब सबै बराबर हुने रे। अब मालिक–नोकर भन्ने हुँदैन रे।”
यसअघि उनका कानले यस्तो शन्देश सुनेको थिएन । कमसेकम आफ्नो हलोमै आएर कसैले हात मिलाएको पनि थिएन । प्रजातन्त्र प्राप्तिपछि उनले देखेको त्यो सपना उनका लागि निकै रोमान्चक बन्यो ।
त्यतिबेला उनी गाउँकै एक मध्यम परिवारमा घरेलु सहयोगीका रूपमा पनि काम गर्थे। बिहानदेखि बेलुकासम्म काम गरेबापत खाना र सामान्य ज्याला पाउँथे। घरका गाईवस्तु हेर्ने, खेतबारीमा सहयोग गर्ने, पाहुना आउँदा काम गर्ने—सबै जिम्मेवारी उनकै काँधमा थियो।
तर अब त्यो काम उनलाई अपमानजस्तो लाग्न थाल्यो।
यदि सबै बराबर छन् भने किन अरूको नोकर भएर बस्ने ?
यदि प्रजातन्त्रले सबैलाई अवसर दिन्छ भने किन आफूले पनि स्वतन्त्र जीवन सुरु नगर्ने यदि देश बदलिँदै छ भने किन आफूले पनि नयाँ बाटो नसमात्ने यही सोचले एक दिन उनले छँदाखाँदाको काम त्यागिदिए ।
घरधनीले सम्झाउने प्रयास गरे।
“कान्छा, बाहिर गएर के गर्छौ ? सोचेर निर्णय गर।”
तर उनी दृढ थिए।
“अब समय बदलिएको छ,” उनले भने, “अब हामी पनि केही गर्न सक्छौं। तपाईंको ढोका चाहार्नुपर्दैन । ”
उनको स्वरमा आत्मविश्वास थियो। त्यो आत्मविश्वास प्रजातन्त्रले दिएको थियो। उनले सोचेका थिए—अब अवसरहरू खुल्नेछन्, काम पाइनेछ, जीवन अघि बढ्नेछ।
तर राजनीतिक परिवर्तनले तत्काल आर्थिक परिवर्तन ल्याउँन सकेन ।
गाउँमा उद्योग थिएनन्। रोजगारीका अवसर सीमित थिए। सीप थिएन। पूँजी थिएन। नयाँ अवसरका ढोका खुलेका थिएनन्।
दिन बित्दै गए।
सुरुमा उनलाई लाग्यो, केही न केही काम भेटिहाल्छ। तर काम भेटिएन। आम्दानी भएन। घरको चुल्हो निभ्न थाल्यो।
कहिले उनी बजारतिर काम खोज्न जान्थे। कहिले छिमेकी गाउँ पुग्थे। कहिले कसैले एक९दुई दिनको ज्याला दिन्थ्यो, तर त्यो स्थायी समाधान थिएन।
विस्तारै उनको उत्साह घट्न थाल्यो।
लोकतन्त्रको सपना अझै बाँकी थियो, तर पेटले सपना बुझ्दैन।
भोकले भाषण सुन्दैन।
समानताको नारा सुन्दर लाग्छ, तर खाली भाँडोले त्यो नारा पचाउन सक्दैन।
दिनहरू कठिन बन्दै गए। घरमा खाद्यान्न सकिन थाल्यो। साथीभाइसँग सापटी माग्नुपर्ने अवस्था आयो। कहिलेकहीँ उनले आफूले गरेको निर्णय सही थियो कि गलत भन्ने प्रश्न पनि गर्न थाले।
तर समय फर्केर आउँदैन।
उता ओझाजी सभासद् बने । यसो आठापाँजा गाउँमा आउँथे तर कान्छदाइको हलोजोत्ने ठाउँमा पुग्न सकेनन् । कान्छा दाई बेरोजगार भएको उनलाई जानकारी थिएन ।
सरकारले कान्छादाइको समस्या समाधान गर्न सकेन र चाहेन पनि ।
कतैबाट सहयोग नपाएपछि एक दिन उनी फेरि त्यही घरको आँगनमा पुगे जहाँबाट केही महिनाअघि ठूलो आशा बोकेर निस्किएका थिए।
ढोकामा उभिएर केही बेर मौन बसे।
सायद उनलाई आफ्नै निर्णय सम्झना आइरहेको थियो।
सायद त्यो बलियो हात मिलाइ पनि सम्झना आइरहेको थियो।
शायद हात मिलाइले उनलाई जिस्काइ रहेको थियो ।
सायद उनले लोकतन्त्र र जीवनबीचको दूरी पहिलोपटक स्पष्ट रूपमा देखिरहेका थिए।
अन्ततः उनले बिस्तारै भने—
“काम छ भने फेरि राख्नुस्।”
घरधनीले उनलाई पुनः काममा लिए।
जीवन फेरि पुरानै लयमा फर्कियो। बिहानको गोठालो, दिउँसोको खेतबारी र साँझको थकान।
तर कान्छा दाइ पहिलेका कान्छा दाइ रहेनन्।
उनले एउटा ठूलो पाठ सिकिसकेका थिए।
राजनीतिक समानता र आर्थिक समानता एउटै कुरा होइनन्।
मतदान गर्ने अधिकार पाउनु र सम्मानजनक जीवन बाँच्न सक्नुबीच ठूलो दूरी हुन्छ।
लोकतन्त्रले उनलाई सम्मानको अनुभूति दिएको थियो। एउटा नेताले उनको हात समातेर उनलाई नागरिकको हैसियत दिएको थियो। तर त्यो सम्मानलाई टिकाइराख्न आवश्यक आर्थिक आधार भने उनको जीवनमा आएको थिएन।
उनले लोकतन्त्रलाई दोष दिएनन्। बरु उनले बुझ्न थाले कि परिवर्तन केवल शासन व्यवस्था बदलिँदैमा पूरा हुँदैन। परिवर्तनका लागि शिक्षा चाहिन्छ, रोजगारी चाहिन्छ, अवसर चाहिन्छ, उत्पादन चाहिन्छ र गरिब मानिसलाई उभिन सक्ने आधार चाहिन्छ।
पाटने कान्छा दाइको कथा प्रजातन्त्रको असफलताको कथा मात्र नभई लोकतन्त्रसँग जोडिएका जनअपेक्षाहरूको कथा हो। यो एउटा गरिब मजदुरले समानताको भाषणलाई कसरी आफ्नो जीवनको यथार्थ ठाने भन्ने कथा हो। र त्यो सपना भोकसँग ठोक्किँदा के हुन्छ भन्ने कथा पनि हो।
यो कथा नेपालका हजारौं सामान्य नागरिकहरूको कथा पनि हो, जसले राजनीतिक परिवर्तनसँगै आफ्नो जीवन पनि तुरुन्तै बदलिने अपेक्षा गरेका थिए। उनीहरूले लोकतन्त्रलाई केवल मतदानको अधिकारका रूपमा होइन, राम्रो जीवनको वाचाका रूपमा बुझेका थिए।
आज जयपुरका बूढापाकाहरू त्यो घटना सम्झँदा कहिलेकहीँ भावुक हुन्छन्।
उनीहरू भन्छन्— “त्यो दिन नेताले कान्छाको हात त समाते, तर उसको जीवन समात्न सकेनन्।”
यो वाक्यमा व्यंग्य पनि छ, पीडा पनि छ र यथार्थ पनि छ।
किनकि सम्मानले मानिसलाई उठ्न प्रेरणा दिन्छ, तर सम्मान मात्रले जीवन धान्न सक्दैन। आत्मसम्मान आवश्यक छ, तर त्यसलाई टिकाइराख्न आर्थिक आधार पनि आवश्यक हुन्छ।
सायद नेपालको लोकतान्त्रिक यात्राको एउटा सानो तर गहिरो सत्य यही हो—सम्मानले आत्मिक सुख त दिन्छ, तर पेट भर्न अझै धेरै संघर्ष चाहिन्छ। लोकतन्त्रले मानिसलाई आवाज निकाल्ने बल दिन्छ, अधिकार दिन्छ, पहिचान दिन्छ, तर ती अधिकारलाई सार्थक बनाउन समाजले अवसर, रोजगारी र न्यायपूर्ण आर्थिक संरचना पनि दिनुपर्छ।
पाटने कान्छा दाइको जीवन यही सत्यको जीवित उदाहरण बनेर आज पनि गाउँको स्मृतिमा बाँचिरहेको छ ।