प्रदेशमा एमाले-नेकपा सत्ता गठबन्धन बनेसँगै कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
357
Shares
तस्बिर : फाइल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले राजीनामा दिएका हुन् । गत असार ३२ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
उनले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले सत्ता साझेदार दुई दलबीचको सहमतिको अवधि सकिएसँगै राजनीतिक विश्वासको वातावरण कमजोर बन्दै गएको र अन्ततः अविश्वासको प्रस्ताव दर्ता भएको पनि बताए ।
अचम्म त के भने शनिबारै एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सहमति भएसँगै कँडेलको राजीनामा आउनुले पनि राम्रै अर्थ बोकेको छ ।
दुई दलको सहमित अनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले गर्ने भएसँगै कँडेलको राजीनामाले सहज बनाएको हो ।
प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तीव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो।
शनिबार भएको सहमतिअनुसार पाँच ओटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ । जसमा कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्नेछ।
मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।
पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणमा देखिएको असमझदारी र बजेट विहीनताको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक स्थिरता कायम गर्न यो कदम चालिएको दुई दलले जनाएका छन्।
जनताको चाहना अनुरूप प्रादेशिक विकासलाई अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेश सभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णय गरिएको छ। उक्त सहमति पत्रमा एमाले अध्यक्ष ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले हस्ताक्षर गरेका छन्।