काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरणहरू प्रस्तुत गरेका छन्।
सञ्चारमाध्यमका अनुसार सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको उल्लेख गरे पनि उक्त कारबाही कति समयका लागि स्थगित गरिएको हो भन्ने बारेमा स्पष्ट पारेको छैन।
त्यस्तै सीबीएस न्युजले दुई क्षेत्रीय स्रोतको हवाला दिँदै ओमानको प्रतिनिधिमण्डलले हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा वार्ता गर्न तेहरान भ्रमण गर्ने तय भएकाले सो वार्तामा अवरोध नहोस् भनेर अमेरिकाले आक्रमण स्थगित गरेको जनाएको छ।
यसैबीच द न्युयोर्क टाइम्सले वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार घट्दै गएको चेतावनी दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही थप विस्तार गर्ने योजना स्थगित गरेको दाबी गरेको छ।
अमेरिकी सेनाका संयुक्त प्रमुख कर्मचारी समितिका अध्यक्ष डान केनले थप व्यापक सैन्य कारबाही सञ्चालन गरिए अमेरिकी केन्द्रीय कमान्डसँग रहेका इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार सकिन सक्ने चेतावनी दिएको उक्त अखबारले जनाएको छ।
अमेरिकाले हालसम्म इरानविरुद्धको सैन्य कारबाहीमा १ हजार २०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर प्रयोग गरिसकेको छ भने प्रत्येक इन्टरसेप्टरको लागत ४० लाख अमेरिकी डलरभन्दा बढी पर्ने बताइएको छ।