काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आत्मदाहको प्रयासबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टका अनुसार गत शनिबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा आगो लगाएकी थिइन्। घटनालगत्तै शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले उनलाई तत्काल सेती प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए।
त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिएको भए पनि आफन्तले उनलाई सिधै काठमाडौँतर्फ लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।