ग्यासको आयात नियमित, आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
156
Shares
काठमाडौँ । बजारमा ग्यासको कृत्रिम अभाव र अस्थिरता देखिएपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी ग्यास जगेडामा नराख्न आग्रह गरेको छ। सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति पूर्ण रूपमा नियमित रहे पनि उपभोक्ताहरूले एकैपटक जगेडा सिलिन्डर भर्न थाल्दा बजारमा अस्थायी अभाव देखिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको आयातमा कुनै कमी आएको छैन र विगतका तुलनामा दैनिक करिब १०० बुलेट हाराहारीमै ग्यास आपूर्ति भइरहेको छ। पहिले नेपाल आयल निगमले उपलब्ध गराउने परिमाणमै अहिले पनि आपूर्ति भइरहेको स्पष्ट पार्दै उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात राख्ने प्रवृत्ति बन्द गरेमा यो समस्या स्वतः समाधान हुने बताएका छन्।
त्यस्तै, सङ्घका सदस्य विमल कालाखेतीले पनि सामान्य अवस्थामा जति ग्यास आवश्यक पर्छ सोहीअनुसार आयात भइरहेकोले डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्।
हाल नेपाली बजारमा कुल १ करोड ५० लाख थान सिलिन्डर रहेका छन्, जसमध्ये ५० लाख सिलिन्डर विभिन्न ग्यास डिपोसँग रहेका छन्। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो भने हाल नेपालमा कुल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्।