विश्वकै उत्कृष्ट विलासी होटल बन्यो मुस्ताङको ‘शिन्तामणि’, नेपालको पर्यटनमा नयाँ इतिहास
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
447
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूचीमा नेपालको मुस्ताङस्थित ‘शिन्तामणि मुस्ताङ’ पहिलो स्थानमा परेको छ।
विश्वका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पलाई पछि पार्दै शिन्तामणि मुस्ताङले विश्वकै उत्कृष्ट लक्जरी होटलको उपाधि जितेको हो। यस उपलब्धिलाई नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक सफलता मानिएको छ।
मुस्ताङको कालीगण्डकी नदीको तटमा अवस्थित यस रिसोर्टको डिजाइन विश्वप्रसिद्ध डिजाइनर बिल बेन्स्लीले गरेका हुन्।
परम्परागत बाग्लुङ ढुङ्गाको प्रयोग गरेर निर्माण गरिएको रिसोर्टमा २९ ओटा सुविधासम्पन्न कोठा रहेका छन्। यहाँबाट निलगिरी, धौलागिरी लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
यात्रा विज्ञहरूले शिन्तामणि मुस्ताङलाई शरीर, मन र आत्माको शान्तिका लागि उत्कृष्ट विश्रामस्थलका रूपमा वर्णन गरेका छन्। यहाँ आउने पाहुनाले कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था गरिएको छ, जसले मुस्ताङको प्राकृतिक सौन्दर्य, संस्कृति र जीवनशैलीलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छ।
रिसोर्टले पाहुनाका लागि हिमाली पदयात्रा, घोडचढी, धनुषबाण खेल, आठ सय वर्ष पुरानो लुब्रा गाउँ भ्रमण, बोन बौद्ध धर्मको अध्ययन तथा परम्परागत तिब्बती चिकित्सा पद्धति ‘आम्ची’ सेवासमेत उपलब्ध गराउँदै आएको छ।
रोब रिपोर्टले विश्वभरका २४ जना ट्राभल विज्ञहरूको सिफारिस, प्रत्यक्ष भ्रमण र अनुभवका आधारमा सेवा, व्यवस्थापन, स्थान, मौलिकता र समग्र अनुभवलाई मूल्याङ्कन गरेर यो सूची तयार पारेको जनाएको छ।
यस वर्षको सूचीमा दोस्रो स्थानमा रुवान्डाको सिंगिता क्विटोन्डा, तेस्रोमा स्कटल्याण्डको होप लज, चौथोमा जापानको पार्क हयात टोकियो र पाँचौँ स्थानमा भारतको शक्ति परेका छन्।
शिन्तामणि मुस्ताङ विश्वकै उत्कृष्ट विलासी होटल घोषित भएसँगै नेपालले साहसिक पर्यटनको गन्तव्य मात्र नभई उच्चस्तरीय लक्जरी पर्यटनका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान स्थापित गरेको छ।