प्रविधिको विकास र एआईले इतिहास संरक्षणमा चुनौती थपेको इतिहासविद् पोखरेलको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
106
Shares
काठमाडौँ । इतिहासविद् राजकुमार पोखरेलले बढ्दो प्रविधिको प्रयोग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण इतिहासको संरक्षण र ऐतिहासिक सामग्री संकलनमा ठूलो चुनौती थपिएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै इतिहासविद् पोखरेलले डिजिटल माध्यममा प्रसारित अप्रमाणित ऐतिहासिक सामग्रीहरूको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न कानुनी सुधारको टड्कारो आवश्यकता रहेको औँल्याएका हुन्। एआईको यो युगमा सही र गलत इतिहास छुट्याउन अत्यन्त कठिन भएको बताउँदै उनले युट्युब वा अन्य डिजिटल माध्यममा आउने सबै सामग्रीहरू सत्य नहुने र तिनको आन्तरिक तथा बाह्य परीक्षण गर्नुपर्नेमा जोड दिए।
बैठकमा परराष्ट्र मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीसँग रहेका ऐतिहासिक महत्वका कागजातहरू लामो समयसम्म गोप्य राख्ने अभ्यासप्रति पनि उनले आपत्ति जनाए। निश्चित समयपछि त्यस्ता दस्तावेजहरू राष्ट्रिय अभिलेखालय वा इतिहास संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्ने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ। उदाहरण दिँदै उनले चार दशकअघि समाप्त भइसकेको पञ्चायती व्यवस्थासँग सम्बन्धित अभिलेखहरू समेत सहज रूपमा अध्ययनका लागि उपलब्ध नहुनु चिन्ताजनक रहेको बताए।