काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्वसांसद रामहरि ढुङ्गेलको बिहीबार बेलुकी पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिएको छ । ढुङ्गेलको पार्थिव शरीरलाई उनका साहिला भाइ विष्णुप्रसादले दागबत्ती दिएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार स्व ढुङ्गेलको शव शिक्षण अस्पतालमा परीक्षण गरी दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
त्यहाँ पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतले पार्टीको चारतारे झन्डा ओडाएर सम्मान गरेका थिए । उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला लगायतका नेता आर्यघाट पुगेका थिए ।
राजधानीको डिल्लीबजारस्थित निवासमा सुतिरहेकै अवस्थामा ढुङ्गेलको बुधबार राति निधन भएको थियो । पूर्व कृषि सहायकमन्त्रीसमेत रहेका ५८ वर्षीय ढुङ्गेल अविवाहित थिए । उनी २०५६ को आम निर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । रासस