arrow

काठमाडौं महानगरपालिकाको मेयरका लागि कुन पार्टीबाट को-को छन् आकांक्षी ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ चैत ८ मंगलबार
kathmandu-mahanagarpalika-metro.png
काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ । अन्यौलकाबीच तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास पनि बढ्दै गईरहेको छ । यसैबीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि आकांक्षा देखाउनेहरुको पनि होड सुरु भएको छ । 
 
यसरी उम्मेदवारका आकांक्षीहरुमा होड चलिरहेको छ भने सोही विषयमा मुख्य पार्टीहरुले भने महानगरपालिकाको आगामी मेयरको लागि पार्टीबाट कसलाई टिकट दिने भन्ने विषयमा छलफल थालेका छन् । मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरको लागि कसलाई उठाउने भन्ने विषयमा छलफल चलाईरहँदा ती पार्टीभित्र समेत कुन् आकांक्षी कुन गुटको र कुन पक्षको हो भनेर कित्ताकाट सुरु हुन थालेको छ । 
 
व्यवस्थापिका संसद्को पहिलो ठूलो दल तथा काठमाडौंको १० मध्ये ८ क्षेत्रमा विजय हाँसिल गरेको नेपाली काँग्रेसबाट अहिले मेयरका लागि ४ जनाले आकांक्षा देखाएका छन् । जसमा सभापति शेरबहादुर देउवा निकट मानिने प्रगतिमान रञ्जीत र नरोत्तम बैद्य रहेका छन् । स्रोतका अनुसार सभापति देउवाले बैद्यलाई पशुपति क्षेत्र विकास कोषमा व्यवस्थापन गरेर रञ्जीतलाई मेयरमा अगाडि सार्ने सम्भावना रहेको छ । देउवा निकट रञ्जीत युवाहरुको भीडमा धेरैले मनपराएका उम्मेदवारका आकांक्षी हुन् । 
 
त्यस्तै, नेपाली काँग्रेस काठमाडौंका पूर्व सभापति भीमसेनदास प्रधान निकट तीर्थराम ड्रंगोल पनि मेयरका आकांक्षी हुन् । काठमाडौंको राजनीतिमा प्रभावशाली मानिने प्रकाशमान सिंहको कित्ता बाहिर रहेका उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। यसैगरी पार्टीको जिल्ला सचिव समेत रहेका राजुराज जोशी पनि मेयरको लागि आकांक्षी छन् । उनी हिन्दू राष्ट्र अभियानमा सक्रिय रहेको कारण उनलाई खुमबहादुर खड्का निकट पनि मान्ने गरिएको छ । उनी अहिलेका उद्योगमन्त्री नविन्द्रराज जोशीका दाइ पनि हुन् । 
 
उता, दोस्रो ठूलो दल नेकपा एमालेको तर्फबाट पनि काठमाडौंको मेयरमा आकांक्षा देखाउनेको पनि कमि छैन । एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पनि यस पटक काठमाडौंको मेयरमा उठ्ने आकांक्षा देखाईरहेका छन् । उनी काठमाडौं क्षेत्र नं ६ बाट संविधान सभाको निर्वाचन २०७०मा नेपाली काँग्रेसका उम्मेदवार भिमसेनदास प्रधानसँग पराजीत भएका थिए । कृष्ण गोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, विद्या सुन्दर शाक्य र सानु श्रेष्ठको पनि मेयरको आकांक्षीको रुपमा नाम चर्चामा छ । 
 
उता, तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्रको तर्फबाट अहिलेसम्म एकमात्र उम्मेदवारका आकांक्षी रहेका छन् सर्वाेत्तम डंगोल । उनीबाहेक अहिलेसम्म दोस्रा आकांक्षीको नाम चर्चामा छैन । अहिले माओबादी केन्द्रको काठमाडौंमा चर्चामा रहेका व्यक्ति डंगोलबाहेक अरु नरहेकोले माओबादीबाट उनले नै टिकट पाउने सम्भावना रहेको स्रोतको भनाई छ । 
 
त्यस्तै, चौथो शक्ति राप्रपाले भने केशब स्थापित मेयर बनेको बेलामा उपमेयर निर्वाचित भएका राजाराम श्रेष्ठलाई नै मेयरको रुपमा अगाडि सार्ने भएको छ । राप्रपाको पनि उनी बाहेक अरुले मेयरको लागि टिकट पाउने सम्भावना नरहेको बुझिएको छ । 
 
यसका साथै बैकल्पिक शक्तिको रुपमा रहेको विवेकशील नेपाली दलले पनि आफ्नो अध्यक्ष उज्वल थापालाई काठमाडौंको मेयरको उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरिरहेको छ । अहिले विवेकशीलले २०३० सालमा विवेकशीलले नेतृत्व पाएको खण्डमा टाईम्स म्यागाजिनले काठमाडौंकै बारेमा कभर स्टोरी बनाउने गरी काम गर्नै भन्दै घोषणापत्र समेत वितरण गर्न थालिसकेको छ । सो पार्टीले पनि काठमाडौं महानगरपालिकामा भने आफ्ना अध्यक्षलाई नै उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । 
 
यो विवरण अहिलेको प्रारम्भिक विवरण रहेको र नामावली सम्भावित उम्मेदवारहरुको हो । निर्वाचनको मिति नजिकिँदै गर्दा यसमा परिवर्तन पनि हुन सक्छ । सो बारे पनि हामीहरु अपडेट गराउँदै जानेछौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ