मस्तिष्कघातका कारण कांग्रेस नेता चक्र बास्तोला तीन वर्षयता अर्धचेत अवस्थामा छन् । खुमलटारस्थित निवासमा उनको हेरचाह गरिरहेकी छिन् पत्नी कुसुम ।
नयाँ पत्रिका दैनिकमा समाचार छ-नेपाली क्यालेन्डरको एउटा सामान्य दिन लाग्न सक्छ, जोकोहीलाई ।तर, कुसुमलाई अतीत सम्झाउँछ यो दिनले, एउटा ठूलो सपनाको उद्गारजस्तै लाग्छ यही दिन ।
०६९ साल पुस १४ गते विराटनगरको ‘बन्धु’ भेला अहिले पनि कुसुमको आँखैमा छ, परेलीबाट खस्न लागेजस्तै । त्यही दिन, कुसुमको मुटुको एउटा पोयो फुस्कियो, जब ‘फोटोसेसन’मा ढले उनका पति चक्र बास्तोला ।
चक्र बास्तोलाको त्यो ‘फोटो पोज’ क्यामेराको ‘मिलिसेकेन्ड क्लिक’मा कैद हुन पाएन । न त पाए, उनका सपनाहरू । दिल्लीको मेदान्त अस्पताल, बाँसबारीको न्युरो अस्पतालले पनि ल्याउन सकेनन्, चक्रलाई पुरानै दैनिकीमा । र, अहिले उनी अर्धचेत अवस्थामा दिन बिताइरहेका छन्, खुमलटार हाइटस्थित निवासमा ।
उनीसँग पुराना ती स्मृतिका सम्झना होलान्–नहोलान्, तर सँगै साथमा छिन् कुसुम । चक्रसँग पुराना दिन फिरून् भन्ने आशा होलान्–नहोलान्, तर छन् कुसुमसँग तीनै सम्झना र एउटा आस ।
‘प्रत्येक बिहान आँखा खुल्दा सोच्छु, उहाँ मलाई बोलाउँदै हुनुहुन्छ,’ कुसुम भन्छिन्, ‘तर अहँ, यी तीन वर्षमा उहाँको व्यवहार टसको मस भएको छैन ।’ कुसुमका आँखा टोलाउँछन्, लाग्छ भावशून्य भएका छन् ती आँखाहरू ।
तर, आशाका ज्योति छन् तिनै आँखामा । कुसुमका आँखा नै हुन्, जो चक्रका आँखा चलमलाउँदा ठ्याक्कै आँखामा ठोकिन्छन् र बुझ्न खोज्छन् भावहरू ।
उनका आँखाले ‘भावशून्य’ बास्तोलालाई नजिकबाट पछ्याएको तीन वर्ष भइसक्यो । यी तीन वर्षमा बास्तोलाको स्वास्थ्यामा ‘ड्रास्टिक चेन्ज’ आएको छैन । तर, कुसुमलाई चक्रको यही अवस्था ‘नर्मल’ लाग्न थालेको छ । किनकि, उनी मात्र एकजना छिन्, जो बुझ्छिन् चक्रका सबै भावहरू ।
‘हेर्दा अवस्था असाध्यै नर्मल छ । आँखाको इशाराले डिस्कस गर्न खोज्नुहुन्छ । मुख चलाउनुहुन्छ । कहिलेकाहीँ मह राखिदिन्छु थाहा पाउनुहुन्छ र निल्नुहुन्छ । सबै कुरा थाहा पाउनुहुन्छ । तर, यी व्यवहारको निरन्तरता चाहन्छौँ, तर निरन्तरता …’ भावुक हुन्छिन् कुसुम ।
अलिकति आँखाको इशारा र केही थाहा पाएजस्तो गरी व्यवहार देखाउने हो भने बिस्तारै नर्मल हुने अवस्थामा पुग्ने बाटो खुल्छ भनेका छन् डाक्टरले । घरमा आउँने शुभेच्छुक पनि भावुक हुन्छन्, बोलिहाल्लान्जस्तो गरी अनवरत बेडमा पल्टिएका चक्रको जीवन चक्रप्रति । ‘साइन्सले पनि यसको उपचार गरेनछ भन्छन् भेट्न आउनेहरू ।’ कुसुमका आँखामा मनको वह बुझ्न सकिन्छ, त्यो गाँठो अनुमान गर्न सकिन्छ ।‘तर, आस मारेकी छैन,’ उनी भन्छिन्, ‘जहाँ छु, त्यहीँबाट हेर्छु । सम्झिँदा कहाँबाट कहाँ पुगेँजस्तो लाग्छ ।
हिजो–अस्ति जस्तो लाग्छ, तर अवस्था जहाँको त्यहीँ छ ।’कुनै समय नेपाली कांग्रेसको खम्बा अझ भनौँ बिपी हुँदै गिरिजाप्रसादलाई संकटमा नभई नहुने पात्र थिए ७२ वर्ष पुगेका चक्र । गुटबन्दी र स्वार्थले घेरिएको कांग्रेसमा चक्रले आफू स्थापित हुन कहिल्यै पनि नेताको दौराको फेरो समाएनन् । बरु, कांग्रेसमा खरो बोल्ने नेताको परिचय बनाउन पुगे । एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सम्पर्क सूत्रको काम गर्नका लागि उनले गिरिजाप्रसाद कोइरालालाई निकै सहयोग गरेका थिए ।
राजनीतिक व्यक्ति भएकाले सुरुमा सक्रिय हुँदासम्म घरमा कार्यकर्ताको भीड लाग्थ्यो । अर्धचेत भएपछि केही पातलो भयो । तर, जब १२ वैशाखमा भूकम्प आयो, त्यसपछि पनि नेता–कार्यकर्ता निकै कम खुमुलटार पुग्ने गरेका छन् । दुई हप्ताअघि प्रधानमन्त्री केपी ओली पुगेर बास्तोलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।
तर, कुुसुमलाई पावरमा हुँदा बढ्ने गरेको भीड अहिले घट्दा दु:ख लागेको छैन । यस्तो हुनुलाई उनी ‘समयको खेल’ मान्छिन् । ‘पावरमा हुँदा कार्यकर्ताको भीड हुन्छ, नहुँदा स्वत: घट्छ, त्यो समयको कुरा हो,’ यस्तो सम्झने हो भने झन् दु:खी हुने भन्दै बुझक्की कुरा गर्दै कुसुम भन्छिन्, ‘यदाकदा यस्तो फिल भए पनि यस्तो मान्नुहुन्न दु:खी भइन्छ ।’ उनलाई अन्य बिरामीजस्तै बोल्ने मात्र भए पनि चक्र दाइ भन्दै मानिस भेट्न आउँथे कि जस्तो लाग्छ । तैपनि, उनलाई झापाबाट नेता–कार्यकर्ताले फोन गर्छन्, के छ भाउजू ? भनेर सोध्छन् । धेरै नेता–कार्यकर्ता आएर नसोधे पनि यिनै फोनमार्फत स्वास्थ्यको कामना गर्नुलाई नै सन्तोष मान्छिन् ।
तीन वर्षसम्म अनवरत बिहानदेखि रातिसम्म अहोरात्र खटिन्छन् । नियमित सरसफाइ गर्दा, खाना खुवाउँदा देखाउने अस्वाभाविक गतिविधिले उनलाई उद्वेलित बनाइदिन्छ । केही दिनअघि यस्तै अवस्था सहयोगीसहित उनलाई आश्चर्यमा पारिदियो । बिहान ब्रस गरिदिइन्, सधैँझैँ केही न केही बोलिरहने कुसुमले पानी कुलुलु गर्न भनिन् । उनले त्यसो भन्नेबित्तिकै चक्रले टाउको घुमाएर हेर्दा सबै सहयोगीसहित उनी पनि आश्चर्यमा परिन् । ‘ब्रस गराएर कुलुलु गर्नुभन्दा टाउको घुमाएर हेर्नुभयो, आइ कन्ट्याक्ट गर्नुभयो,’ कुसुमले भनिन्, ‘म छक्क परेँ, नर्स छक्क परिन् । सायद टाउको घुमाएर म थुक्न सक्दिनँ भन्नुभएको होला ।’
तर, यस्तो व्यवहारको निरन्तरता आफूले खोजेजस्तो नभए पनि उनले हार मानेकी छैनन् । बैठक कोठामा झुन्ड्याएर राखेका फोटानजिक लगेर देखाइदिन्छिन् । म्युजिक सुनाइदिन्छिन् । गफ गर्छिन्, बोलाउँछिन्, यी सबै व्यवहार देखाउँदा चक्र झस्कन्छन्, बुझेजस्तो गर्छन् ।
‘उहाँका राजनीतिक जीवनका फोटा, पारिवारिक फोटा देखाइदिन्छु यस्तो गर्दा आँखाले केही भन्न खोजेजस्तो गर्नुहुन्छ, बोल्न खोज्नुहुन्छ,’ उनी भन्छिन्, ‘बोलाउँदा–बोलाउँदै झस्किएर संवाद गर्न खोजेजस्तो गर्नुहुन्छ ।’ बिपी कोइराला, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नान, पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्यसँगै र आफैँसँगका फोटा कोठामा झुन्ड्याइएका छन् । यिनै फोटालाई कहिलेकाहीँ कुसुमले देखाइदिन्छिन्, यस्तो गर्दा एकटकले हेर्छन्, बोल्न खोजेजस्तो गर्छन् तर सक्दैनन्, अनुहार र आँखाको इशाराबाट उनको भाषा बुझ्नुपर्छ ।
यी तीन वर्षलाई व्याख्या गर्ने शब्द नै छैन कुसुमसँग । यत्ति मात्रै भन्छिन्, ‘नियति नै यस्तो अप्ठ्यारो छ । तीन वर्ष भयो । कहाँबाट कसरी यस्तो भएर आयो ?’ पीडामिश्रित आवाजमा पीडा लुकाउने प्रयास गर्दै भन्छिन्, ‘सम्झिँदा झन् धेरै दु:खी भइन्छ ।’
यसरी बित्छ दिन
चक्र बास्तोलाको हेरचाहका लागि बिहान उठेदेखि राति नसुतेसम्म तीन–चारजना निरन्तर खटिनुपर्छ । ५ बज्नुअघि सुरु हुने नियमित दैनिकी राति १० बजे नसुतेसम्म उस्तै हुन्छ । तर, कोही न कोही सहयोगी २४ घन्टा सतर्क हुनुपर्छ ।
दिनको सात–आठपटक खाना खुवाउनुपर्छ । बिहान ५ बजे प्रोटिन मिक्स दूध, साढे ७ बजे ओटमिल खुवाउनुपर्छ । तर, मुखले खान सक्दैनन्, पाइपबाट खुवाउनुपर्छ । सहयोगी नवराज अधिकारीसहितले उनको खाना तयार गर्छन् । ‘सबै खालका खाना ठोस होइन, लिक्युइड बनाएर मात्र पाइपबाट खुवाउनुपर्छ । तर, धेरै खुवाउन हुन्न । एकपटकमा चार सय एमएल खुवाउनुपर्छ,’ सहयोगी अधिकारी भन्छन् । ११ बजे अन्डाको सुप, चिकेन, भेजको खाना, दिउँसो चार बजे एप्पल जुस, साँझ सात बजे कर्नफ्लेक्स र साढे आठ बजे मिक्स खाना खुवाइन्छ ।
उपचार थेरापी
थेरापी, मसाजबाटै बिस्तारै होसमा आउने डाक्टरको सल्लाहपछि मसाज, थेरापी गरिन्छ । बिहान र बेलुका गरी दुई घन्टा ह्विलचेयरमा घर–कम्पाउन्डमा घुमाउनेदेखि सरसफाइ पनि जाडो याम सुरु भएपछि घाममा नै राखेर गरिन्छ । शरीरलाई सक्रिय राख्न डाक्टरले चेयरमा घुमाउन सल्लाह दिएको अधिकारी बताउँछन् । यो क्रम बिहान ९ देखि ११ बजेसम्म र बेलुका ५ देखि झन्डै ७ बजेसम्म चल्छ ।
घरका सहयोगीबाहेक नियमित नर्सिङ केयरका लागि एकजना नर्स घरमै हुन्छन् । ग्वार्कोको ग्लोबल अस्पतालबाट आलोपालो एकजना नर्सले छोड्दैनन् । मस्तिष्कघातको मेडिसिनभन्दा पनि फिजियो, अकुपंचर र आयुर्वेदिक पद्धतिबाट उनको उपचार भइरहेको छ । नियमित फिजियो गराउने डाक्टर रमेश आजाद एक दिन बिराएर आउँछन् ।
‘ब्लड सर्कुलेसन र इनर्जी फ्लोका लागि एकुप्वान्टेजरमार्फत ट्रिटमेन्ट भइरहेको छ,’ सोमबार थेरापी र मसाज गर्दै गरेका आजादले भने, ‘यो विधि भनेको अकुपंचर, म्याग्नेट र एकुप्रेसरको कम्बाइन्ड विधि हो ।’ यो विधिबाट उपचार गर्दा शरीरमा ‘एक्सप्रेसन’ अलि बढेको आजाद बताउँछन् । आजादले उपचार गराइरहेको एकटकले हेरेर बसेकी कुसुम शरीर हेर्दा बिरामी भन्नै नमिल्ने अवस्था भएको बताउँछिन् ।
शरीरमा रगत जम्न नदिन र शक्ति फ्लो गर्नका लागि एक दिन बिराएर यो विधिबाट ६ महिनादेखि उपचार हुँदै आएको कुसुमले बताइन् ।
मसाज र अकुप्रेसरका लागि नेचर केयर अस्पताल बानेश्वरबाट डाक्टरहरू एक दिन बिराएर आउँछन् । यो विधिबाहेक प्रेसरको र अन्य औषधि दिनको तीनपटक खुवाउनुपर्छ ।
‘भर्खरै सुतेको मानिसजस्तो देखिनुहुन्छ, जतिखेर पनि केही बोल्न हतार गरेजस्तो लाग्छ, उठेर बोलिहाल्नुहुन्छजस्तो लाग्छ,’ उनी भन्छिन् । राति सुताएपछि पनि निर्धक्क भएर सहयोगी सुत्न पाउँदैनन् । कहिले आफैँ त कहिले सहयोगीको सहयोगमा डेढ घन्टाको अन्तरमा कोल्टे फेर्नुपर्छ, उत्तानो गरी सुताउनुपर्छ । अन्यथा रगत जम्ने, ज्यान तात्ने हुन्छ । गर्मीमा ज्यान तात्ने भएकाले झन् ओल्टे–कोल्टे धेरै फेराउनुपर्छ ।
चार–पाँच दिनमा घाँटीमा राखिएको प्रोटेक्स फेर्नुपर्छ । २० दिनदेखि एक महिनाभित्र युरिन ब्याग, नलीसहितको सेट फेर्नुपर्छ । तर, ब्याग मात्रै तीन–चार दिनमा पनि फेरिन्छ । यसबाहेक नियमित सरसफाइ, कफ, निकाल्नेसहितका काममा कुसुम र सहयोगी खटिन्छन् । ओल्टे–कोल्टे गराउन, बेडबाट ह्विलचेयरमा र ह्विलचेयरबाट बेडमा सार्न कम्तीमा दुईजना अनिवार्य चाहिन्छ । अलिकति तलमाथि हुनेबित्तिकै श्वासप्रश्वास बढेजस्तो हुन्छ । सोमबार दिउँसो १२ बजे निवास पुग्दा पनि कुसुम, नवराज र नर्स सिर्जना ह्विलचेयरमा घुमाएर कफ निकाल्ने र सरसफाइ गर्दै थिए । घरमा पनि अस्पतालको आइसियुजत्तिकै केयर गर्नुपर्ने कुसुम बताउँछिन् ।
र, त्यसमा नै जीवन देखिरहेकी छिन् कुसुम ।