arrow

काँग्रेसी मन्त्रीहरुको अनुरोधमा उपप्रधानमन्त्री निधीको राजीनामा तत्काल टर्यो

शुक्रबार पार्टीमा गम्भीर छलफल

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
bimalendra-nidhi.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहालको ढुलुमुलु चरित्रका कारण सत्ता साझेदारको प्रमुख घटक नेपाली काँग्रेसका तर्फबाट नेतृत्व गर्दै सरकारमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले अपमानवोध गर्दै दिन खोजेको राजीनामा तत्काल टरेको छ ।

 

संसदको सबैभन्दा ठूलो दल काँग्रेसका निधीलाई सरकारमा दोस्रो वरियता दिन नखोजी चौथो दल राप्रपाका कमल थापालाई दोस्रो वरियता दिन खोजेपछि निधी राजीनामा दिने मनस्थितिमा पुगे पनि काँग्रेसी मन्त्रीहरुको सुझावका कारण बिहीबार नै राजीनामा दिने मनस्थिति पछि हटेको हो । 


वरियता विवादका कारण मन्त्रीपरिषद बैठक बस्न नसकेपछि झण्डै तीन घण्टा सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको काँग्रेसी मन्त्रीहरुको बैठकमा निधीलाई आवेशमा आएर राजीनामा दिनुभन्दा पार्टीमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

 

मन्त्री निधीले कमल थापाको तल रहेर काम गर्दिन भनेसंगै सहभागी सबै मन्त्रीले तत्काल राजीनामा दिएर आफ्नो कमजोरी प्रदर्शन गर्न नहुने सुझाव दिएका हुन् । बाणिज्य मन्त्री रोमी गौचन थकालीले भने, ‘हामी सबैले एउटै विचार सुनायौं, अब उपप्रधानमन्त्री ज्यू र पार्टी सभापति शेरबहादुर देउवाज्यूको पनि एउटै बोली आउनु पर्यो भनेर भनेका छौं ।’ 


मन्त्री थकालीका अनुसार यो सरकारको गठबन्धन आफ्नै प्रक्रियाले अगाडि बढ्ने भएकाले निश्चित समयमा यसको पनि छिनोफानो हुने हुँदा अहिले तत्कालै गठबन्धन तोड्नु राम्रो नभएकोसमेत मन्त्रीहरुले सुझाएका छन् । 


यसैबीच, शुक्रबार नेपाली काँग्रेस संसदीय दल र काँग्रेस केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री दाहालले अपनाएको रणनीति र उपप्रधानमन्त्री निधीका बारेमा गम्भीर छलफल हुने मन्त्रीहरुले बताएका छन् ।

 

अहिलेसम्म पार्टी सभापति देउवाको स्पष्ट भनाइ बाहिर नआइरहेका बेलामा शुक्रबारे भेलाले काँग्रेसको भविष्यसमेत तय हुने बुझिएको छ । 


बिहीबारको छलफलमा मन्त्रीहरुले पार्टी सभापति देउवा र प्रधानमन्त्री दाहाललाई दबाब दिनेसमेत बताएका छन् । 


यसैबीच, काँग्रेसी मन्त्रीहरुको बैठकमा प्रहरी महानिरीक्षकको नियुक्ति र स्थानीय निकायको निर्वाचनका बारेमासमेत गम्भीर छलफल भएको थियो ।

 

स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्न नहुनेमा सबै एक मत भएका छन् । पहाड र हिमालमा चुनाव गरेर तराईमा दोस्रो चरणमा चुनाव गर्न खोज्नु सबैभन्दा खतरनाक भएको भन्दै सबैको एक मत आएको पनि मन्त्री थकालीले बताए । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ