यो वर्षपनि बैशाख १ गते नेपाल 'फ्ल्याग फेस्टिवल' मनार्इंदै
प्रकाशित २०७३ चैत २७ आइतबार
971
Shares
काठमाडौं । आगामी नयाँवर्ष वैशाख १ गते नेपालगञ्जमा भव्य रुपमा नेपाल फ्ल्याग फेस्टिवल आयोजना गरिने भएको छ । 'नेसन्स प्राइड, नेसन्स आइडेन्टिटी’ भन्ने मुख्यनाराका साथ यो फ्ल्याग फेस्टिवल गत वर्षदेखि आयोजना गर्न थालिएको हो । फरक डिजाइनको नेपाली राष्ट्रिय झण्डा संसारमै विशिष्ट पहिचान राख्दछ ।
अन्तरालको व्यवस्थापनमा हुने यस फेस्टिवलको आयोजनामा विभिन्न संघ संस्थाहरुले सहकार्य गरेको फेस्टिवलका प्रचार संयोजक गोविन्द पौडेलले वताए । उनका अनुसार विहान ठिक ७ वजेर ५९ मिनेट जाँदा शुरु हुने फेस्टिवलमा स्वदेश गान तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्यहरु प्रस्तुत हुनेछन् ।
‘झण्डा हामी नेपालीको एकताको प्रतीक हो’—फेस्टिवलका परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाहले भने ‘झण्डाले हामीलाई वर्षमा ३ सय ६५ दिन नै संसारमा चिनाउँदछ वर्षमा १ दिन हामी सवै झण्डाको लागि समय दिउँ ।’ फेस्टिवलमा राष्ट्रिय झण्डा सहित सहभागी हुन अन्तरालले सबैलाई आग्रह गरेको छ । साथै उक्त दिन लागत मूल्यमा उपलब्ध हुने गरी राष्ट्रिय झण्डाको स्टल पनि राखिने प्रचार संयोजक पौडेलले बताए ।