arrow

कञ्चनपुरका दुई प्रधानाध्यापकले मास्टरी छाडे, स्थानीय निकाय निर्वाचनमा लड्ने दाउ

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
politics-education.jpeg

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएकी छिन् । 

नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएकी उनले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन् ।  

नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिएकी उनले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताइन् ।  

टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उनको भनाइ छ । 

पहिलो पटक चुनावमा भाग लिन लागेकी बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताइन् । 
 
विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गरेकी बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गरेकी हुन् ।  

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न लागेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ