प्रहरी संगठनबाटै एक्लिए सिलवाल, डिआइजी सबै अर्यालकै समर्थनमा
प्रकाशित २०७३ चैत २९ मंगलबार
4.6k
Shares
काठमाडौं । सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख नियुक्त गरिदिएपछि डिआइजी नवराज सिलवाल एक्लिएका छन् । सिलवाल बाहेकका डिआइजी, एसएसपीहरु सबैले प्रकाश अर्याल नियुक्तिको स्वागत गरेका छन् भने, सरकारको निर्णयलाई महत्वपूर्ण भनेका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा तेस्रो भएका बमबहादुर भण्डारी, चौथो भएका जयबहादुर चन्दले प्रकाश अर्यालको नियुक्ति विशेष भनेका छन् । हाम्राकुरासँग कुरा गर्दै भण्डारीले भने, ‘मैले सरकारको निर्णयलाई पहिले पनि गलत भनिन । अहिले पनि भनेको छैन । सरकारको निर्णयलाई मैले आजसम्म अन्यथा लिएको छैन । यो नियुक्तिमा पनि कुनै आपत्ति छैन ।’ सरकारले कार्यसम्पादन अध्ययनका लागि समिति नै बनाएर गरेको काममा शंका गर्नु उपयुक्त पनि हुँदैन ।
कार्यसम्पादन मूल्याङ्क गोप्य रहने कुरा हो । बाहिर जसरी चर्चा भयो यसले प्रहरी संगठनलाई असर गर्छ, उनले भने, ‘कार्यसम्पादन मूल्याङ्कनमा जालझेल भएको जस्तो लाग्दैन ।’ यस्तै, अर्का डिआइजी जयबहादुर चन्दले पनि सरकारको निर्णयलाई महत्वपूर्ण र आवश्यक भने । चन्दले आफुहरुको मूल्याङ्कन फेरि पनि हुने बताए । उनले, भनेका छन्, ‘म राज्यको सिपाही हुँ । राज्यको निर्णयलाई म सम्मान गर्छु । अब मेरो बारेमा पनि राज्यको निर्णय कुरेर बसेको छु ।’ सरकारको निर्णयलाई अन्यथा नलिएको भन्दै उनले थपे, ‘पीसीसी बैठकमा उपस्थित भए । नयाँ आइजी सावको ब्रिफिङमा सहभागि भएको छु । हामीले स्वागत गरेका छौँ ।’
पहिले कार्यसम्पादनमा आधारमा आइजी नियुक्त नभएको भदै डिआइजी चन्दले यसपटक कार्यसम्पादन मूल्याङ्कन आकर्षित भएको बताए ।
उनले भने, ‘आइजी नियुक्तिमा कार्यसम्पादन मूल्याङ्कनले अर्थ राख्दैन । प्रहरी ऐनको ६ वटा प्रक्रिया छ । सोही अनुसार हुने हो । कार्यसम्पादन आकर्षित हुँदैन ।’ यो पटक नयाँ ढंगले निर्णय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको निर्णयको सम्मान गर्दै राजनीतिक खिचातानी अन्त्य गरी क्षमतावानलाई नियुक्त गर्ने परिपार्टी बसाएको जिकिर गरेका छन् ।
डिआइजी चन्दले बाहिर कार्यसम्पादनको नम्बर बाँड्दै हिड्नु उपयुक्त नभएको समेत बताएका छन् । उनले भने, ‘यसले नम्बर दिने पनि दुःखी भए । नम्बर पाउनेलाई पनि पीडा भयो ।’ यस्तो गर्न हुँदैन थियो । डिआइजी सिलवालले आफुले कानुनको सर्वोच्चताका लागि अन्तिम समयसम्म लडिरहने बताएका छन् । अदालतको फैसलाको पेट खण्डमा गरिएको व्याख्यालाई आधार बनाएर सिलवाल फैसलाले आफुलाई योग्य भनेको भन्दै फेरि सर्वोच्च गएका हुन् ।
तर, कानुन अध्येयता विपिन अधिकारी अदालतको फैसलाको पेट खण्डमा जे सुकै व्याख्या गरेको भए पनि अन्तिम तथा ठहर खण्डमा लेखिएको आदेश कार्यान्वयन गर्नुपर्ने बताउँछन् । उनका अनुसार अदालतले पेट खण्डमा रिट निवेदकले पेश गरेका फाइल र प्राप्त विवरणका आधारमा व्याख्या गर्ने हो । कार्यान्वयनमा व्याख्या हेरिरहन जरुरत हुँदैन । ठहर खण्ड हेर पुग्छ ।
सर्वोच्चले चैत ८ मा सुनाएको फैसलाको ठहर खण्डमा कार्यसम्पादन मूल्याङ्कनमा उच्चतम् अंक प्राप्त गर्नेलाई नियुक्त गर्न भनिएको छ । यस्तै, सिलवाल विवादित पात्र बनेपछि राजनीतिक तहमा पनि विश्वास गुमेको छ । सहमति सत्तारुढ दलबीच केही दिनअघि नै भएको सहमतिमा प्रकाश अर्याल नै उपयुक्त रहेको निष्कर्ष निष्किएको थियो ।
चेन अफ कमाण्ड तोडे
नयाँ आइजीपीले बोलाएको बैठक वहिष्कार गरेर सिलवालले चेन अफ कमान्ड तोडेका खुल्न आएको छ । प्रकाश अर्याल महानिरीक्षक नियुक्त भएपछि पहिलो पटक बसेको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सिलवाल सहभागि नभएको बताइएको छ ।
प्रहरी प्रधान कार्यलय नक्सालमा बसेको बैठकमा निर्वतमान निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, डिआइजीहरु जयबहादुर चन्द, बमबहादुर भण्डारीलगायत सहभागि भए । नवराज सिलवाल भने बैठकमा उपस्थित भएनन् । सिलवाल बाहेक सबै डिआइजीहरु उपस्थित भएका बैठकका सहभागिहरुले बताए । बैठकमा एसएसपीहरु पनि उपस्थित थिए ।
पहिलो बैठकले प्रकाश अर्यालको नियुक्तिको स्वागत गरेको छ । बैठकमा सहभागि डिआइजी बमहादुर भण्डारीले भने, ‘सरकारले रिक्त प्रहरी महानिरीक्षक नियुक्त गरेकामा स्वागत भयो । यो प्रहरी संगठनको परम्परा नै हो । हामीले नयाँ आइजीपी सावलाई स्वागत गरेका छौँ । सरकारको निर्णयको स्वागत गर्ने परम्परा पनि छ ।’ निर्णयको सबैले स्वागत गरेका छन् ।
नवराज सिलवाल चन्दविरुद्ध सर्वोच्च गएपछि डेढ महिना प्रहरी संगठन नेतृत्वबिहिन थियो । प्रहरी नेतृत्व विवादमा तानिदा चेन अफ कमान्ड कमजोर हुनुका साथै शान्तिसुरक्षामा समेत त्यसको नकारात्मक पर्न थालेको टिप्पणी भइरहेको छ ।