बालकृष्ण ढुंगेलविरुद्ध सर्वोच्चमा मुद्दा पर्यो, वारेन्ट जारी गरी गिरफ्तारीको माग
प्रकाशित २०७३ चैत ३० बुधबार
461
Shares
काठमाडौं । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेको माओवादी पूर्व सभासद् बालकृष्ण ढुंगेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले वुधबार माओवादी पूर्वसभासद बालकृष्ण ढुंगेलविरुद्ध अदालतको अवहेलना रिट दर्ता गरेका हुन् ।
ढुंगेलले आफूविरुद्ध ज्यान मुद्दामा फैसला गर्ने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको फिला चिर्ने धम्की दिएकाले अवहेलना मुद्दा दर्ता गारिएको त्रिपाठीले बताएका छन् । रिटमा ढुंगेललाई तत्काल अदालत बाट वारेन्ट जारी गरी गिरफ्तार गर्ने आदेश दिन माग गरिएको छ । रिटको पेशी विहिबार (भोली) तोकिएको छ ।
अधिवक्ता त्रिपाठीले हाम्राकुरासँग भने, ‘जन्म कैद सुनाएको मान्छे भागेर हिँडेको छ । फेरि अदालतको अवहेलना हुनेगरी धम्की दिँदै हिँड्ने गम्भीर अपराध हो । यो विषय सामान्य विषय होइन । मैले रिटमै अदालतले नै पक्राउको लागि वारेन्ट जारी गरिदिनु पर्यो भनेको छुँ । अदालतको अवहेनाको विषय उठाएको छुँ ।’ अदालतको अवहेलना गरेको ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना हुने प्रावधान छ ।
एमाले नेता बामदेव गौतम गृहमन्त्री हुँदा ढुंगेललाई जति खोजेपनि नभेटिएको बताएका थिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको भनिएका ढुंगेललाई तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको इजलासले सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो ।
राष्ट्रपतिले समेत आममाफी नदिने निर्णय सदर गरेपछि ढुंगेल लुकिछिपी हिँडिरहेका छन् । यद्यपि, ढंगेल पछिल्लो समय सार्वजनिक कार्यक्रममा समेत देखिन थालेको चर्चा हुँदैछ । रामेछापका गणेशकुमार श्रेष्ठको हत्या पनि ढुंगेलकै योजनामा भएको बताइन्छ । भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण श्रेष्ठको माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेको पीडित परिवारको दावी छ ।