arrow

काँग्रेस नेताहरुले भने–स्थानीय उम्मेद्वार आफै छान्नुस्, केन्द्रले हस्तक्षेप गर्दैन 

एमाले नेताहरुलाई देउवाले प्रवेश गराए काँग्रेसमा

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
nc-leader-pokhara-mass-meeting.jpg

पोखरा । काँग्रेसका प्रभावशाली नेताहरुले कांग्रेसभित्रकै अन्तर्घात चुनावका लागि चुनौती र चिन्ता भएको बताएका छन् । पोखराको चिप्लेढुंगामा बुधबार ४ नम्बर प्रदेशस्तरीय ‘वृहत आमसभा’लाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतले  पार्टीभित्रै अन्तर्घात चिन्ताको विषय भएको बताए । 

वरिष्ठ नेता पौडेलले जो पायो, त्यहीले उम्मेदवार हुन्छु भन्दैमा चुनाव जित्न नसकिने तर्क गरे । पहिले जित्न सक्ने र काम गर्न सक्ने हो कि होइन भनेर विचार गर्न उनले आग्रह गरे । उनले भने, ‘हामीले क्षेत्र र जिल्लालाई अधिकार दिएका छौं । यहीँका नेताले नै कसले जित्न सक्छ भनेर मूल्यांकन गरेर पठाउनुहोला । सबै हामीलाई थाहा हुँदैन । ’

पार्टीभित्रको अन्तरद्वन्द्वलाई कम गर्न अनुरोध गर्दै पौडेलले भने, ‘हामी एक भएनौं र हार्न पुग्यौँ भने गाउँघरमा नाकमुख देखाउनै गाह्रो पर्छ । कसरी मुख देखाउने ?  त्यसैले समझदारी अपनाउनुहोला ।’
पौडेलले विपक्षी एमाले भ्रम फैलाउन उद्दत रहेको आरोप लगाए । 

‘एमालेले धेरै भ्रम फैलाउने काम गरेको छ । एमालेको भ्रमको खण्डन जरुरी छैन । ऊ आफैंले खण्डन गर्दै हिँड्छ,’ –पौडेलले भने । विश्वकै कम्युनिष्टले भ्रम फैलाउने मात्रै हुन्, पौडेलले भने, ‘उनीहरु विकास गर्दैनन् ।’

गिरिजाप्रसादको कोइरालालाई सम्झँदै पौडेलले भने, ‘गिरिजाबाबु भन्नु हुन्थ्यो मलाई कसैको डर लाग्छ भने त्यो आफ्नै छायाँसँग लाग्छ । त्यो भनेको काँग्रेस हार्न पुग्यो भने हराउने काँग्रेस नै ठहरिन्छ ।’ 

नेता पौडेलले मधेसवादी दलहरूलाई स्थानीय निकाय निर्वाचनको अभ्यासबाट नभाग्न आग्रह गरे  । उनले भने,  ‘उहाँहरू अधिकारका लागि लड्नु भएको हो, संविधानले प्रदेश र स्थानीय निकायलाई दिएको अधिकार अब चुनावबाट नेतृत्व हातमा लिएर अभ्यास गर्नुपर्छ । प्रदेशलाई अधिकार दिँदा जनतालाई स्थानीय तहमा अधिकार सम्पन्न बनाउनु पनि हाम्रो दायित्व हो ।’ 

Image may contain: 2 people, crowd and outdoor

महामन्त्री शशांक कोइरालाले काँग्रेस अहिले जीवनमरणको दोसाँधमा रहेको बताउँदै जसरी पनि जिताउनै पर्ने बताए । पूर्वपार्टी सभापति गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै उनले पार्टीभित्रको अन्तर्घातको चिन्ता गरे ।

‘गिरिजाबाबु भन्नुहुन्थ्यो, मलाई मेरै छायाँदेखि डर लाग्छ,’ महामन्त्री कोइरालाले भने ‘काँग्रेस कसैबाट हार्छ भने काँग्रेससँगै हार्छ । अन्तर्घातकै कारण हार्छ ।’ महामन्त्री कोइरालाले यसपालिको स्थानीय चुनावमा काँग्रेसलाई हराउने गरी बागी उम्मेदवार उठ्नेलाई कडाभन्दा कडा कारबाही गरिने महामन्त्री कोइरालाले बताए । 

केन्द्रीय सदस्य तथा पूर्व उपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठले पनि काँग्रेसलाई हराउने अर्को शक्ति नभएको भन्दै काँग्रेसभित्रै घात हुन सक्ने औँल्याए ।  

पूर्व महामन्त्री कृष्ण सिटौलाले जनताको इच्छा र चाहना अनुसार चुनाव हुन लागेकाले कसैले टार्न, नर्गन र छल्न नसक्ने बताए । उनले कुनै वर्ग विशेष, सामन्त र दलका नेतालाई नभई विपन्न, निमुखा जनताका लागि चुनाव गर्न लागिएको उल्लेख गरे । सिटौलाले संघीय राज्य व्यवस्था नौलो अभ्यास भएकाले पार्टीभित्र पनि आन्तरिक मतभेद भएको धारणा राखे । यस्तै सिटौलाले स्थानीय उम्मेदवार चयन गर्दा केन्द्रले कुनै हस्तक्षेप नगर्ने बताए । 

केन्द्रीय सदस्य, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले दोहोरो चरित्र अपनाइरहेको आरोप लगाए ।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य अर्जुन जोशी, सांसद शारदा पौडेल, नेपाल महिला संघका सभापति उमा अधिकारी, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका सभापति नैनसिंह महर, नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, स्याङ्जाका सभापति कमल पंगेनी, कास्कीका सचिव सुदीपमोहन भट्टराई लगायतले बोलेका थिए ।

कार्यक्रममा एमाले निकट स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य अर्जुन गायक, टोल विकास संस्था लेखनाथका चन्द्रबहादुर गुरुङ, कमल गुरुङ लगायत १ हजार बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ