arrow

एमालेले कहिले ल्याउँछ घोषणा पत्र ?

नयाँ संविधान संशोधन मान्दै मान्दैनौँ

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
umlmeet.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले अबको एक हप्ता भित्रै स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणा पत्र तयार पार्नेकाम धमाधम भइरहेको छ, पार्टी सचिव एवंम प्रचार विभाग प्रमुख योगेश भट्टराईले हाम्राकुरासँग भने, ‘जिल्लाबाट सुझाव लिइसकेका छौँ । केन्द्रमा पनि विभिन्न क्षेत्रका जानकार  वुद्धिजीविहरुसँग परामर्श गरी सुझाव लिइरहेका छौँ । सुझावहरुलाई समेटेर तयार पार्ने काम हुँदैछ । एक साताभित्रै सार्वजनिक हुन्छ ।’ छलफल लगभग अन्तिम चरणमा पुगेका छन् ।

ढिलाई हुनुको कारणबारे बताउँदै भट्टराईले भने, ‘अहिले नयाँ संरचना अनुसार निर्वाचनमा जानु पर्ने भएकाले थुप्रै प्राविधिक कुराहरु मिलाउनु पर्ने भएकाले ढिलो हुन गएको हो ।’ भट्टराईले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै एमाललेलाई चुनाव लागिसकेको बताए ।

एमालेले घोषणा पत्र तयार पार्न कार्यवहाक अध्यक्ष बामदेव गौतमको नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाएको छ । मस्यौदा समितिमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डितलगायत छन् ।  

एमालेले वैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार घोषणा गर्ने पनि जनाएको छ । सचिव भट्टराईले धेरैजसो स्थानीय तहको उम्मेदवार निर्विरोध चयन गरिएको पनि जानकारी दिए । उनले वैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार तय गरिसक्ने पार्टीको यसअघि नै निर्णय गरिसकेको बताए ।

एमालेले स्थानीय तहको निर्वाचनको महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय कमिटीलाई दिएको छ । यद्यपि, आइतबारका लागि बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एमालेले निर्वाचन परिचालनका प्रभावकारी बनाउन पार्टी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा अनुगमन टोली समेत गठन गरेको छ ।
संविधान संशोधन नमान्ने
सचिव भट्टराईले सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयकले स्थानीय तह र त्यहाँ प्रतिनिधिको अधिकार कटौती गरेको भन्दै एमालेलाई स्वीकार्य नभएको बताए । उनले भने, ‘यस्तो प्रस्ताव कसरी मान्य हुन्छ । संघीयतामा जाने भन्ने स्थानीय तहका अधिकार कटौती गर्ने ? यसबाट सत्ताधारी दलहरुको नियत प्रष्ट भएको छ ।’
सचिव भट्टराईले दुई चरणमा निर्वाचन गर्ने र मधेसी मोर्चालाई ल्याउन केही दिन भएपनि चुनाव सार्ने भन्ने सत्ताधारीहरुको मनसायबारे आफुहरुलाई खासै जानकारी नभएको बताए । उनले यसविषयमा एमालेसँग कुनै पनि प्रकारको कुराकानी नभएको समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ