arrow

आचारसंहिता पालनामा सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ : प्रमुख आयुक्त यादव

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
ayodhi_yadab_.png

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताएका छ ।

‘स्थानीय तह निर्वाचन र आमसञ्चारमाध्यम’ विषयको दुईदिने तालिमको सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा उद्घाटन गर्दै यादवले कसैले भनेको कुरा सुनेको भरमा होइन, वस्तुगत र तथ्यपरक समाचार सङ्कलन र प्रसारणमा रेडियो नेपालले बढी ध्यान पुर्‍याउन आवश्यक छ, भने ।

प्रमुख आयुक्त यादवले भने, ‘आफ्ना सबै कार्यक्रममा निर्वाचनलाई उच्च प्राथमिकता दिएर रेडियो नेपालले ज्यादै प्रशंसनीय काम गरेको छ, मतदाता शिक्षा अझै जनता बीचमा पुर्‍याउन आवश्यक छ, निर्वाचनको प्रचारप्रसारका भरपर्दो साधन राजनीतिक दल भए पनि आचारसंहिता पालनालगायतका पक्षमा सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ ।”

राजनीतिक दलबीच देखिएको असहजताको वातावरणले अप्ठेरोमा पार्ने हो कि भन्ने आफूलाई लागिरहेको बताउँदै भने, “राजनीतिक दलबीच सहकार्य र सहमतिका आधारमा निर्वाचनको वातावरण छिट्टै सहज र सरल हुनेछ ।”

सो अवसरमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहनेछ भने । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले निर्वाचनको नयाँ परिवेशमा प्रयोग भएका नयाँ प्रविधि र निर्माण भएका नयाँ कानुनका बारेमा कम्तीमा पनि जानकारी मिलोस् भन्ने हेतुले तालिम आयोजना गरिएको बताए ।

निर्वाचन आचारसंहिताको पालना, मतदाता शिक्षा, संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी सिद्धान्तका आधारमा उम्मेदवार बन्न पाउने प्रावधान, गाउँसभा, गाउँ कार्यकारिणी र गाउँ न्यायिक समितिसम्बन्धी व्यवस्थाका बारेमा पनि तालिममा जानकारी दिइनेछ । रेडियो नेपालका सञ्चारकर्मीका लागि आयोजित उक्त तालिममा ४० जनाको सहभागिता छ । रेडियो नेपालबाट हाल स्थानीय निर्वाचनका सन्दर्भमा २१ भाषाभाषीबाट मतदाता शिक्षाको प्रचार प्रसार हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ