राजसंस्था र हिन्दूराष्ट्र नहटाउन भन्दै निर्वाचन आयोगलाई राप्रपाको स्मरणपत्र
प्रकाशित २०७४ वैशाख ३ आइतबार
449
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई स्मरणपत्र बुझाएको छ ।
पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई स्मरणपत्र बुझाए होृ । राप्रपा नेता राजाराम श्रेष्ठका अनुसार पहिले बुझाएको ज्ञापनपत्रबारे स्पस्ट जवाफ नआएपछि फेरि स्मरणपत्र बुझाइएको हो ।
आयोगले गएको चैत ४ गते राप्रपाको एकता महाधिवेशनले अवलम्बन गरेको सिद्धान्त मध्ये ती दुई विषय संविधान अनुकूल नरहेको भन्दै खारेजीको निर्णय गरेको थियो । त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त यादवलाई ज्ञापनपत्र बुझाइएको थियो ।
उपाध्यक्ष तामाङले लोकतन्त्र वहालीपछि भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागि भई जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय पुनःविचार गर्नुपर्ने माग गरे । आफुहरुको आग्रह नमाने कानुनी उपचारमा जाने तयारी भइरहेको समेत राप्रपा नेताहरुले बताएका छन् ।