काठमाडौँमा युवा सार्क सम्मेलन हुँदै, सार्क सम्मेलनलाई दबाब
प्रकाशित २०७४ वैशाख ६ बुधबार
715
Shares
काठमाडौं । सार्क सम्मेलन समय–समयमा हुन नसकिरहेको अवस्थामा युथ पार्लियामेन्ट नेपालले काठमाडौँमा यही बैशाख ११ र १२ गते युवा सार्क सम्मेलन आयोजना गर्दैछ ।
नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवाको सहभागिता रहनेछ । नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको समेत सहभागिता रहनेछ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा उदाउँदो दक्षिण एशियाली मुद्दा, जलवायु परिवर्तन, दिर्घकालीन विकास लक्ष्य, सु–शासन, दक्षिण एशियामा अन्तर्राष्ट्रिय सम्बन्धको पुनःपरिभाषा, युवा उद्यामशिलता र दक्षिण एशियाको नयाँ आर्थिक युगबारे छलफल हुनेछ ।
राष्ट्रिय सभागृहमा उद्घाटन हुने उक्त सम्मेलनमा दक्षिण एशियाका राजदूतहरू र नेपालका महत्वपूर्ण व्यक्तिहरूको समेत सहभागिता रहनेछ ।
सार्क सम्मेलन समयमा नै गर्न नैतिक दवाब सृजना गर्नु, दक्षिण एशियाका साझा मुद्दामा साझा धारणा निर्माण गर्नु र दक्षिण एशियाली युवाहरूलाई सञ्जालिकरण गर्नु यस सम्मेलनको उद्देश्य रहेको युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल बताउँछन् ।
अष्ट्रेलियामा रहेका उक्त कार्यक्रमका टिप्पणीकार विनोद पौडेल भन्छन्– “यो कार्यक्रम दक्षिण एशियाली युवा सम्बन्धको नयाँ आयाम हो, विचार साट्ने साझा थलो हो र दक्षिण एशियाको अन्तर्राष्ट्रिय सम्बन्धलाई यसले समय सापेक्ष पुनः परिभाषित गर्छ ।”
राष्ट्रिय युवा परिषद्, सहकार्य नेपाल, युवा अभियान नेपाल, युवा वकालत नेपाल, युवा गैर सरकारी संस्था राष्ट्रिय महासंघ नेपाल, लगायत महत्वपूर्ण संस्थाहरूको संयोजन तथा व्यवस्थापनमा हुने यस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।