बालुवाटार छिर्याे संयुक्त राष्ट्र संघका कार्यकारीहरुको हुल
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
315
Shares
काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघसम्वद्ध विभिन्न विकास संगठनका कार्यकारी प्रमुखहरुले संयुक्त रुपमा भेट गरेका छन् ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र संयुक्त राष्ट्र संघको संलग्नतामा निर्माणाधिन विकास आयोजनाहरुका बारेमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण र नवनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि संयुक्त राष्ट्र संघको सहयोग र सद्भाव आवश्यक रहेको बताए । नेपालको शान्ति प्रक्रिया र विकास आयोजनाहरुमा संयुक्त राष्ट्र संघको महत्वपूर्ण सहयोग रहेको भन्दै त्यसका लागि प्रधानमन्त्री दाहालले कार्यकारी प्रमुखहरुलाई धन्यवाद दिए ।
भेटमा विकास संगठनका कार्यकारी प्रमुखहरुले संयुक्त राष्ट्र संघका विकास संगठनहरुको संलग्नतामा नेपालमा सञ्चालित विकास आयोजनाहरुको प्रगति सकारात्मक रहेको बताउँदै थप लगानीका लागि आफ्नो तर्फबाट पहल हुने जानकारी दिए ।
भेटमा संयुक्त राष्ट्र संघअन्तर्गत युनिसेफका कार्यकारी प्रमुख वाल्टन अल्फन्सो वेब्सन, पानामाका स्थायी प्रतिनिधि लाओरा एलिना हेरेरा, युएईका स्थायी प्रतिनिधि लाना नुस्सेबेह, मोक्सिकोका युएनका राजदूत मार्था बार्सेना, जापानका लागि युएनका राजदूत हिरोशी मिनामी, एरेटियाका स्थायी प्रतिनिधि अमानुएल जिओर्जियो, युनिसेफका बोर्ड सेक्रेटरी निकोलास प्रोन र नेपालका लागि राष्ट्र संघका स्थायी प्रतिनिधि भ्यालरी जुलियन सहभागि थिए ।