शाक्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय ल्याइँदै
प्रकाशित २०७४ वैशाख २३ शनिबार
233
Shares
काठमाडौं । नेपाली काँग्रेसका पुराना नेता मार्सल जुलुम शाक्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा राखिने भएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो २ देखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको काँग्रेसले जनाएको छ ।
त्यसपछि भने बौद्ध परम्पराअनुसार काठमाडौंको टेकुमा गुठीमार्फत अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
शाक्यको ७७ वर्षको उमेरमा शनिबार बिहान ८ः४७ बजे ग्रान्डी अस्पतालमा निधन भएको हो ।
ग्रान्डी अस्पतालमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु पुगेका छन् । अन्य नेताहरुसमेत पुग्नेक्रम जारी रहेको छ ।
एक हप्ताअघि मुटुको शल्यक्रिया गरिएका शाक्यको अस्पतालमै उपचाररत रहेका अवस्थामा पानी पिउँदा सर्किएर शनिबार बिहान ८ः४७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली काँग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई किसुनजीको नेतृत्वमा ०४७ सालमा गठित अन्तरिम सरकारका सदस्य शाक्यले नेपालको संविधान ०४७ जारी गर्नसमेत अहम् भूमिका खेलेका थिए ।
सन् १९४० को अक्टुबरमा जन्मिएका शाक्य पहिलो पटक राजा महेन्द्रको ‘कू’ का समयमै गिरफ्तार भएका थिए ।
त्यसपछि उनले अनवरत काँग्रेसकै राजनीति गरे । उनी रामराजाप्रसाद सिंहसंग बैठकमा बसेको आरोपमासमेत पक्राउ परेका थिए ।
मानवअधिकारबादी संस्थामा समेत रहेका शाक्य एम्नेष्टी इन्टरनेशनलका संस्थापक सदस्य हुन् ।