arrow

मुग्लिन सडक पुनः दैनिक ६ घन्टा बन्द

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
Mugling-Narayanghat.jpeg

रत्ननगर । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले बिहीबारदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । 

वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो । 

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुनेछ । 

अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत मात्रै काम पूरा भएको खनालले जानकारी दिए । 

समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ । 

उक्त सडकखण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् । 

चुनावका लागि गएका मजदुर फर्किएको समेत आयोजनाले जनाएको छ । 

उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउँछन् ।

बेलाबेलामा सुख्खा पहिरोका कारण सास्ती पाउँदै आएका यात्रुले यहाँ वर्षाका बेलामा थप सास्ती पाउँदै आएका छन् । 

अघिल्लो महिनामा यहाँ सुख्खा पहिरो खसेर दुईजनाको ज्यान गएपछि सतर्कता बढाइएको प्रहरीले जनाएको छ । 

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । 

कतिपय स्थानमा कालोपत्र गर्ने काम समेत थालिसकिएको आयोजनाको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ