'टीकापुर घटना र मधेस दंगा' : सरकारी निर्णयविरुद्ध एमालेले निकाल्यो कडा वक्तव्य
दोषी उम्काउने निर्णयले सुरक्षा निकायको मनोबल गिरायो
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
281
Shares
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले टीकापुर घटना र मधेस दंगाका दोषीलाई उम्काउन गरेको निर्णयले सुरक्षा निकायको मनोबल गिराएको टिप्पणी गरेको छ ।
एमालेले एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई ‘राजनीति’को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल गिराएको निष्कर्ष निकालेको हो । प्रमुख विपक्षी एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन गरेको भन्दै आपत्ति समेत जनाएको छ ।
‘विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक–पटकका फैसला तथा निर्देशनहरू एवं मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरितको सरकारको यस्तो निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने’, एमाले सचिव प्रदीप ज्ञवालीले जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो निर्णयले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ।’
यस्तै, सरकारको निर्णयले न्यायको पर्खाइमा बसेका पीडित घाउमा नुनचुक दल्ने काम गरेको समेत विज्ञप्तिमा उल्लेख छ । एमालेले मुद्दा फिर्ताको निर्णय तत्काल फिर्ता लिन, घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, दण्डहीनता अन्त्य गर्न तथा मानव अधिकार र विधिको शासनको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
‘यो निर्णयले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ’ –विज्ञप्तिमा भनिएको छ ।
विहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कैलाली घटनाका मुख्य योजनाकारलाई उन्मुक्ति दिनेगरी थरुहट र मधेस आन्दोलनलाई ‘राजनीतिक’ आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपीसहित ७ सुरक्षाकर्मी मध्ये कतिलाई पेट्रोल छर्केर आगो लगाइएको थियो भने, केहीलाई खुकुरी र भाला प्रहार गरेर हत्या गरिएको थियो । एक शिशुलाई घरमै घुसेर गोली प्रहार गरिएको थियो । २०७२ भदौ २५ गते महोत्तरी एक घाइते सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट थुतेर निर्ममतापूर्वक हत्या गरिएको थियो ।
महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई एम्बुलेन्सबाट थुतेर लखेटीलखेटी खुकुरी, भाला प्रहार गरी हत्या गरिएको थियो । विश्वकर्माको शव खेतमा लखेट्दै मारिएको अवस्थामा फेला परेको थियो । मधेसी मोर्चाको आक्रमणबाट घाइते उनलाई उपचारका लागि जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।