राजपा चुनावमा आए काँग्रेस जेठ ३१ को मिति सार्न तयार
प्रकाशित २०७४ जेठ १३ शनिबार
630
Shares
काठमाडौं । सरकारको नेतृत्व गर्न हतारिएको काँग्रेसले मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा)नेपाललाई चुनावमा सहभागि हुन अनुरोध गरेको छ । काँग्रेसले राजपा चुनावमा सहभागि भए जेठ ३१ गते हुने दोस्रो तहको चुनाव सार्न सकिने संकेत समेत दिएको छ ।
काँग्रेस पार्टी कार्यालय सानेपामा काँग्रेस र राजपाका नेताहरुबीच शनिबार भएको छलफलमा लेनदेनको बारेमा पनि छलफल भएको बताइएको छ ।
काँग्रेस नेताहरुले मधेशवादी दलको माग पूरा गराउन आफूहरु तयार रहेको र ती माग पुरा गराउन चुनावको मिति सार्नु परेपनि सार्ने तर, चुनावमा भने सहभागि हुनुपर्नेमा जोड दिएको बैठकपछि नेताहरुले बताए ।
बैठकपछि पत्रकारसँग काँग्रेस नेता एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने, ‘हामीले राजपा नेपालका नेताहरुलाई चुनावमा भाग लिनुहुन्छ भने पार्टी दर्ता, हस्ताक्षर बुझाउने तथा चुनाव चिन्ह प्राप्तिका लागि ऐन संशोधन गर्न र चुनाव मिति सार्न पनि सकिन्छ, तर सविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसका लागि सरकारले कतिको प्रयास गरेको त्यसको बारेमा तपाईहरुलाई थाहै छ भन्यौँ ।’
यद्यपि, राजपा नेपालका नेताहरुले भने आश्वासन धेरैपटक पाएको तर अझैसम्म केही प्राप्त नभएकाले माग पूरा गर्नुपर्नेमा जोड दिएको बताए । राजपा नेपालको अध्यक्ष मण्डलका एक सदस्य शतरसिंह भण्डारीले आफुहरु चुनावमा जान तयार रहेको तर, त्यसको लागि सरकारले वतावरण बनाउनुपर्ने बताए ।
उनले भने, ‘हामीलाई विभिन्न कानुनी अड्चन देखाउँदै दल दर्ता र चुनाव चिन्ह दिइएन । हामीले १२ वर्ष लामो इतिहास बोकेको मधेश आन्दोलनलाई अवतरण गर्न खोजेका थियौँ । हामी संसदको पाँचौ ठूलो दल हौँ । हिजो माओवादीका रामबहादुर थापाले उम्मेदवारी दिन लाग्दा मतदाता नामावलीमा नाम नभेटिएपछि रातारात अध्यादेशबाट म्याद थपेर मतदाता नामावलीको समय बढाई नामावलीमा नाम चढाई चुनाव लडाइएको थियो ।’ कारण १० वर्ष संघर्ष गरेकाहरुलाई परिवर्तनको अभियानमा किन नलैजाने भनेर यसो गरिएको थियो, उनले प्रश्न गरे, ‘अनि हामी चैँ केही पनि होइनौँ ।’ हामी चैँ चुनावमा भाग लिन नपाउनु ।
सविधान संशोधन, झुठा मुद्दा फिर्ता, पार्टी दर्ता, चुनाव चिन्ह प्राप्ति, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्नु पर्नेलगायत माग पूरा भए आफूहरु चुनावमा भाग लिने उनले बताएका छन् ।
आफुहरुकै सहमतिमा दुई चरणमा चुनाव घोषणा भएको बताउँदै उनले भने, ‘हामी चुनाव विरोधी होइनौँ । चुनाव चाहेका हौँ । झ्याल ढोका बन्द गरेर भित्र आउ भनेर भन्दा कति सुहाउँछ होला ।’