arrow

मापसे बटुवालाई जोगाउँदा प्रहरीको गयो ज्यान 

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
accident-final.jpeg

सुरुङ्गा । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास रहेका छन् । 

उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो । 

सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । 

मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा मोरङको डाँगीहाट–९ घर भएका प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो । 

प्रहरी जवानलाई ठक्कर दिएर सवारीसहित फरार चालकलाई प्रहरीले काँकडभिट्टाबाटै दुई दिनपछि नियन्त्रणमा लिएको बताइएको छ । 

घटनामा संलग्न भएको भन्दै मेचीनगरपालिका–७ निवासी ट्याक्सी चालक देवान राजवंशीलाई को १ च ८४५६ नम्बरको ट्याक्सीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ