एमाले स्थायी कमिटीले भन्यो–राजपाका केही माग सकारात्मक
प्रकाशित २०७४ जेठ ३१ बुधबार
589
Shares
काठमाडौं । प्रमुख विपक्षी एमालेले अहिले आएर राष्ट्रिय जनता पार्टीले उठाउँदै आएका केही मागहरु सकारात्मक रहेका भनेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बुधबार बसेको स्थायी कमिटी बैठकले राजपाले उठाएका केही माग सकारात्मक भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा ‘विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरुको उपचारको व्यवस्था गर्नेलगायतका मागहरुलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ, भनिएको छ ।
विज्ञप्तिमा ‘मुलुकमा दण्डहीनताको स्थिति आउन नदिन र गम्भीर अपराधमा संलग्नहरुलाई उन्मुक्ति नदिन हामी ध्यानाकर्षण गर्दछौं । साथै, कुनै पनि निर्दोष नेपाली नागरिकमाथि अनुचित दण्ड संजाय नहोस् भन्ने कुरामा पनि हाम्रो पार्टी सचेत छ । र, यसक्रममा आवश्यक छानविन गरी निर्दोष व्यक्तिहरुमाथि लगाइएका मुद्दाहरु फिर्ता गरी निर्वाचनको वातावरण बनाउन बैठकले सरकारको ध्यानाकर्षण गरेको’ उल्लेख छ ।
बैठकले असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने कुरामा जोड दिँदै निर्वाचनको तयारी र प्रचार–प्रसारका काममा अझै एकताबद्ध रुपमा अघि बढ्न पार्टी मातहतलाई निर्देशन दिएको छ ।
एमालेले संविधानमार्फत् संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आमजनताकोबीचमा स्थापित गर्दै जनताका प्रतिनिधिहरुमार्फत् मुलुकको आर्थिक समृद्धिको यात्रालाई नेतृत्व गर्न र जनताको मताधिकारको सम्मान गर्नका लागि निर्वाचन नै निर्विकल्प माध्यम भएको कुरामा जोड दिँदै असार १४ गतेको स्थानीय तहको निर्वाचनमा भाग लिन र नेपालको राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।
स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिलकुल अलग विषय भएकाले राष्ट्रिय हितविरुद्धको, राजनीतिक धु्रवीकरणलाई बढावा दिने, राजनीतिक र संवैधानिक स्थायित्व माथि गम्भीर प्रश्न उठ्ने गरी व्यवस्थापिका संसदमा प्रस्तावित संविधान संशोधनप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको कुरा पुनः दोहोर्याउन चाहन्छौं । उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष माग गर्दछौं, –विज्ञप्तिमा भनिएको छ ।
यस्तै, सबै राजनीतिक दलहरुसँग संवाद गरी परिस्थिति सहज बनाउँदै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट बिचलित हुँदै सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिका बारेमा भ्रमपूर्ण वक्तव्यहरु सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढावा दिने र आफ्नो सर्वसत्तावादी सत्तालाई लम्ब्याइरहने सरकारको नेतृत्वबाट आएका सार्वजनिक अभिव्यक्तिप्रति एमाले गम्भीर आपत्ति प्रकट गर्दछ, भनिएको छ । । एमालेले तोकिएको मितिमा प्रदेश नम्बर १, २ ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।