arrow

कतार सङ्कट समाधानको बाटो अझै शून्यमै

logo
एकराज पाठक
प्रकाशित २०७४ असार ३ शनिबार
qutar.jpg

काठमाडौँ । पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा । 

तर यतिखेरको अन्योलको पृष्ठभूमि भने बेग्लै छ । उसँग गल्फ क्षेत्रका आफ्नै छिमेकीले सम्बन्ध विच्छेद गरेकाले नयाँ तनाव जन्माएको हो । यसले कतारको उही केही पुरानो घाउमा बसेको खाटा फेरि उप्काइदिएको छ । त्यस समय प्राय पश्चिमा मिडियाबाट बारम्बार आउने समाचार थियो, कतार खाडी राष्ट्र हो त्यसैले उसले विश्वकप जस्तो ठूलो ‘इभेन्ट’ सम्पन्न गर्न सक्दैन । तर आज भने कतार खाडी भएकैले सो विश्वकप आयोजना गर्न नसक्ने भएको होइन कि छिमेकीको असहयोगबीच कसरी त्यो सम्भव होला भन्ने नयाँ बहसको सुरुवात भएको छ । 

विश्वकप फुटबल संसारकै खेलकूद क्षेत्रको एक महाकुम्भ हो । सन् २०२२ मा कतारले यो महाकुम्भको आयोजना गर्ने एउटा ठूलो र महत्वाकांक्षी अवसर पाएको थियो र त्यो सपना देखिनै रहेको छ । उसले ती सपना पूरागर्ने केही आधारहरु केही त निर्माण पनि गरिरसकेको छ । र कतारजस्तो खाडी राष्ट्रको राजधानी दोहालाई उसले मानवनिर्मित डाँडाहरु र हरियालीमा पनि परिणत गरिरहेको छ । यो देख्दा लाग्छ, विश्वकपको आयेजना गर्ने उभित्रको उत्कट चाहनाको अभिव्यक्ति दिनरातको निकै लगनशील परिश्रमबाटै अभिव्यक्त भएको छ । 

तर बिगतमा अनेक जोड र बलले चाहनाहरुलाई साकार पार्न सफल भएको ठानिएका बेला अहिले आएर कतारमाथि अकल्पनीय बज्रपात भएको छ । धर्म, बर्ण, सम्प्रदाय, भूगोल र अरु धेरैकुरा मिल्ने आफ्नै छिमेकी देशहरुबाट सम्बन्ध विच्छेदसम्मको कठोरता व्यहोर्नुपर्ने अवस्था एकातर्फ छ भने अर्कातर्फ बिगतमा नै जिवन मरणको सवाल बनाइएको विश्वकपको आयोजनाजस्तो ऐतिहासिक अवसरले बिदा लिने पो हो कि भन्ने त्रासले उसलाई यतिखेर सताएको छ । 

गत जुन ५ मा एकाएक कतारका गल्फका छिमेकीहरु साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र गल्फभन्दा टाढाको दक्षिण एसियाली देश मालदिभ्सले समेत कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए । यो कतारका लागि ठूलो संकटपूर्ण धक्का हो । उसले नसोचेको यो कूटनीतिक नाकाबन्दी लगाउनुको कारणलाई ती देशले आतंकवादसँग जोडेका छन् भने कतारले भने यसको कारणको खोजी गर्ने जनाएको छ । 

कतारले मुस्लिम अतिवादीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप ती देशको छ । तर कतारले भने यसको ठाडै अस्विकार गर्दै आएको छ । उसले यो सबै कतारलाई उसको विकासबाट अत्तालिएकाहरुले देशलाई नै तहस नहस बनाउने उद्देश्यले गरिएको षडयन्त्रको रुपमा आफ्नो तर्क राख्दै आएको छ । तर यी आठ देश भने मानौँ कि कतारले नै विश्वमा आतंककारीहरुको प्रवर्धन गरेको भन्नेजस्तो गरी दोषारोपणमा उत्रिएका छन् । ती देशहरुले उनीहरुकै शब्दमा उनीहरुको शत्रु राष्ट्र मानिएको इरानसँगको सम्बन्धलाई अघि बढाई उसको प्रशंसा गरेको र मुस्लिम ब्रदरहुडलाई समर्थन गरेको आरोप कतारमाथि लगाएका छन् । 

अरेबियन प्रायद्धीपको उत्तरपूर्वमा पर्ने र जम्मा २६ लाखामात्र जनसंख्या रहेको यस राष्ट्रले छोटो समयमै विश्वको धनी देशको पहिचान बनाउन सकेको थियो । विश्व मानचित्रमा एक सम्पन्न र अरबमध्येको पनि तेलको कुवाका रुपमा सुपरिचित यस देशलाई यो पछिल्लो नाकाबन्दीले धेरै नै असर पार्ने देखिन्छ । तर त्यसको आँकलन भने कतारले अहिलेलाई गरेको छैन । कतारले भनेको छ–आफूसँग कुनै कुराको खाँचो छैन र आवश्य पर्दा जस्तोसुकै परिस्थितिसँग पनि राम्रैसँग र डटेर सामना गर्न सकिन्छ । आजका मितिसम्म पनि कतारले आफ्नो यो असहजताको समाधान सजिलोसँग गर्नेगरी विकल्पहरु प्रस्तुत गरिआएको छ । 

कतारले आफ्नो राष्ट्रियता र सावैभौमसत्ताको पक्षमा यस्तो ढाडस दिए पनि लगभग विश्वकै उडान क्षेत्रको मुख्य ट्रान्जिट रहेको कतारको राजधानी सहर दोहा यतिखेर धेरै फुर्सदमा देखिन्छ । संसारकै व्यस्त विमानस्थलहरुमा पर्ने दोहाको अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर कुनै पनि हतारोमा देखिन्न । ती विश्वका नामुद विमानस्थलजस्तो व्यस्त देखिँदैन अहिले दोहा । कतार एयरवेजले दोहा भएर गल्फमा यात्रा गर्न पाएको छैन भने अरु देशका एयरलाइन्स्हरु फ्लाई दुबई, एमिरेट्स एयरलाइन्स लगायतका कैयौँले पनि दोहाको आकास भएर यात्रा नगरेको दुई हप्ता हुन लाग्यो । 

यस्तो अवस्थामा कतारको आर्थिक बिकासमा नकारामत्मक असर चाँडै देखिन सक्ने अनुमान कतिपय विश्लेषकहरुको रहेको छ । दुबई, अबुधाबी, रियाद र कायरोजस्ता सहरमा हुने उडानमा घटीको ५० प्रतिशत कतार एयरवेजकै हुने गरेकोमा अहिले त्यो अवस्था ठप्पप्राय रहेको छ । उनीहरुले यसलाई पनि एयर स्पेस नदिने र आफ्ना उडानहरु पनि दोहा भएर नभर्ने नीति पहिले नै सार्वजनिक गरिसकेका थिए । यसको प्रत्यक्ष असर देखिन थालिसकेको छ । 

दुई हप्तामा आफ्ना कूटनीतिक कर्मचारीलाई उनीहरुदे देश छोड्न भनिसकेकोमा अधिकांशले छोडिसकेका र कति अब छोड्ने अन्तिम तयारीमा भएका बताएका छन् । हवाई, समुद्र र जमिन मार्ग यातायातका लागि प्रयोगमा प्रतिबन्ध लगाएका छन् भने आफ्नो देशतर्फबाट पनि नाकाबन्दी गरेका छन् । संसारका साना देशमध्येको एक तर समृद्ध यस राष्ट्रको खाद्यान्नमा साउदी अरेबियातर्फको निर्भरता बढी नै देखिएको छ । 

कतारमा आपूर्ति हुने खाद्यान्नमध्येमा करिब ४० प्रतिशत साउदी अरेबियातर्फबाट आयात हुने गर्दछ । यो अवस्था हेर्दा लाग्छ उसले अब साउदी अरेबियातर्फको निर्भरता घटाउनुपर्ने देखिन्छ । कतारको यो संटकलाई सन् १९८१ म भएको गल्फ कोअपरेसन काउन्सिलको गठनपछिको सबैभन्दा ठूलो धक्काका रुपमा विश्लेषकहरु लिन्छन् । 

फरक फरक छन् कतारमाथिका आरोपहरु । साउदी अरेबियाले भन्छ कतारले सिरियाको मुस्लिम ब्रदरहुडलाई सघाएको छ । त्यस्तै सो देशले कतारको लगानीको टेलिभिजन अल जाजिराले आतंककारी मानिएका यमनका हुथी बिद्रोहीलाई सघाउने खालका सामग्रीहरुको प्रचार गर्ने गर्दछ । उनीहरुसँग यसको कुनै यथेष्ट प्रमाण त छैन तर पनि आतंककारी क्रियाकलापको प्रवर्धन गर्ने गरेको उनीहहरुको भनाई छ । जुनकुरा कतारले ठाडै अस्विकार गरेको छ । 

यो दोषारोपण कतारमाथि सन् २०१४ देखि नै गर्ने गरिएको हो । इरानसँग हात बढाएको, मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको तथा यमनका हुथी बिद्रोहीसँग मिलेर काम गरेको आरोप उसमाथि छ । यमनमा साउदी अरब नेतृत्वको सेनाको सहयोगमा त्यहाँको संस्थापन पक्षको संस्थापनाका लागि सहयोग गरिरहेको छ । कतारको आवश्यक सहयोग नै नमिलेको भन्दै यसअघि नै अरबले कतारको सेनालाई फिर्ता गरेको थियो । साउदी अरेबियाको नेतृत्वमा त्यहाँ गल्फका सेनाले काम गरिरहेका छन् । 

सोही कारण पनि त्यस समयमा कतिपय देशले कतारमा रहेका आफ्ना राजदूत फिर्ता नै बोलाएका थिए । त्यस समयदेखि नै कतारले बारम्बार आफ्ना बिरुद्धमा प्रचार भएको भन्दै असहमति पनि राख्दै आएको थियो । तर यो समयमा त उसको आवाज यति मधुर भएको छ कि उसमाथि कूटनीतिक नाकाबन्दीजस्तो कारबाही नै गरिएको छ । यस्तो अवस्थामा कुवेतले यसको मध्यस्थता गर्ने प्रयत्न गरिरहेको छ । त्यहाँका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग मध्यस्थताका लागि पहल गर्ने अनुमति लिएका छन् । उनले यसतर्फ आफूहरुले गम्भीर र आवश्यक पहल थालेको जानकारी पनि गराएका छन् । तर उनले कोसँग र के कसरी वार्ता अघि बढाएका छन् भन्ने बारेमा भने केही पनि बताएका छैन । 

छिमेकीले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको आज १३ दिन पुगेछ । तर पनि पछिल्लो अवस्था हेर्दा यो मध्यस्थताको पहलले थोरैमात्र पनि सकारात्मक मार्ग पहिचान गर्न सकेको जस्तो आधार देखा परेको छैन । कतारले यो भूमरीबाट पार पाउन कतैबाट आशालाग्दा पहलहरु उदाएको देखेको छैन । बरु उसमाथि एकपछि अर्कोगरी दोषहरु थपिँदै गएको देखेको छ । त्यसैले यो समस्या समाधानका लागि गल्फकै कुनै राष्ट्र वा बाहिरबाटै पहल हुनुपर्ने अवश्यकता विश्वव्यापी महसुश हुदैछ । रासस
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ