भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी इसारामा मधेसका नाममा केही नेताले मधेसमा चुनाव हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । कानुन अध्ययन समाज नेपालद्वारा भक्तपुरको तौमढीमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले विदेशीको स्वार्थ पूरा गर्न तराईका केही मधेसी नेताले आन्दोलनको राजनीति गरेको बताए ।
विदेशीले मधेसी नेताको काँधमा बन्दुक राखेर उचालिरहेको टिप्पणी गर्दै बिजुक्छेले देशलाई बिखण्डनबाट जोगाउन देशभक्त जनता तयार हुनुपर्ने आजको आवश्यकता रहेको औँल्याए । उनले भारतकै इसारामा तराईमा आन्दोलन भइरहेको आरोप लगाउँदै यसले नेपालका उद्योग धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले नेपाली काँग्रेस नेतृत्वको सरकारले दोस्रो चरणमा सबै ठाउँमा एकैपटक निर्वाचन गर्न नसकेको बताए । नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले निर्वाचन पनि एक सैद्धान्तिक सङ्घर्ष भएको चर्चा गर्दै नगरमा रहेको खानेपानी, ढलको समस्या समाधान गर्ने आफ्नो पहिलो कदम हुने बताए ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद अनुराधा थापामगरले जुनसुकै सरकार आए पनि जनताका पक्षमा काम गर्न नसक्दा समस्या आएको जिकिर गरे। कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा काठमाडौँका अध्यक्ष नारायण महर्जन, नेमकिपा भक्तपुरका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईं लगायतले देश बचाउ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।