विश्वमा शरणार्थीको सङ्ख्या बढ्दै: सन् २०१६ को अन्त्यसम्म ६ करोड ५६ लाख आन्तरिक र बाह्य शरणार्थी
प्रकाशित २०७४ असार ५ सोमबार
408
Shares
जेनेभा। विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ। सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस्थापित भएर शरणार्थी बन्नेको सङ्ख्या ६ करोड ५६ लाख पुगेको छ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले दिएको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको छ। सो निकायले विश्वमा पछिल्लो समयमा फेरि विस्थापित हुनेको सङ्ख्या बढ्दै जानुलाई खतराको सङ्केतका रुपमा लिएको छ।
सोमबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ मा देखिएको यो उच्च सङ्ख्यालाई अहिलेसम्मकै सबैभन्दा धेरै भनिएको छ।
उक्त निकायका प्रमुख फिलिप ग्रान्डीले भने– हामीले यस विषयमा तथ्याङ्क राख्न सुरु गरेदेखि नै सबैभन्दा धेरै विस्थापित भएको यो नै पहिलो पटक हो।
विश्व शरणार्थी दिवसका अवसरमा सङ्कलन गरिएको यो पहिछल्लो तथ्याङ्क हो। यसरी हेर्दा पछिल्लो समयमा विश्वमा विस्थापितको सङ्ख्या विस्फोटक रुपमा बढ्दो रुपमा देखिएको छ।
तथ्याङ्क अनुसार सन् २०१६ मा मात्र विश्वका एक करोड मानिसले विभिन्न कारणले आफ्नो घर छोड्न बाध्य भएका थिए। एकै बर्षमा यतिधेरै व्यक्तिले घर छोड्नुपरेको पनि यो पहिलो पटक हो।
यी मध्ये गतवर्षमात्र विश्वका विभिन्न देशबाट गरी ३४ लाख मानिसले घर छोडेर बाहिरिएका अर्थात् अन्तर्राष्ट्रिय सीमाना काटेका थिए। शरणार्थीका रुपमा आफ्नो देशको सीमाना नै पार गरेर बाहिरिएको पनि यो अहिलेसम्मकै ठूलो सङ्ख्या हो।
यसरी बाहिरिनेमा इराक, सिरिया, दक्षिण सुडान र अफगानिस्तानका नागरिक धेरै रहेका छन्। उनीहरुले देश नै छोडेर अन्तर्राष्ट्रिय सीमा कटेका छन्। उनीहरु विभिन्न देशमा शरणार्थीको रुपमा बसिरहेका छन्।
उक्त संस्थाको तथ्याङ्कअनुसार गत वर्षमात्र करिब २२ करोड २५ लाख मानिस शरणार्थीका रुपमा दर्ता भएका थिए। उनीहरु अहिले पनि शरणार्थीको रुपमा जिवन व्यतित गरिरहेका छन्।
यसरी विस्थापित हुनुमा विशेषगरी सिरिया र दक्षिण सुडानमा बढ्दो मात्रामा रहेको हिंसा र आतङ्कलाई प्रमुख कारणका रुपमा लिइएको छ। रासस÷एएफपी