रुकुम । यसवर्ष मात्र जिल्लामा १५ वटा झोलङ्गे पुल निर्माण भएका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलङ्गे पुल निर्माण भएका हुन । झोलङ्गे पुल निर्माण भएपछि जिल्लाका विभिन्न ठाउँमा रहेका सर्वसाधारणहरुलाई आवतजावत गर्न निकै सहज भएको छ । योसँगै जिल्लामा अहिलेसम्म एक सय भन्दा वढि झोलङ्गे पुल निर्माण भएको र यो बर्ष मात्र १५ वटा पुल निर्माण गरिएको रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।
सरकारले खोलामा रहेका तुईन हटाएर झोलङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएसँगै जिल्लामा तुइन विस्थापित गर्ने कार्यक्रम अन्तरगत ८ वठा र नियमिति कार्यक्रम तर्फ ७ वटा गरेर जम्मा १५ वटा पुल निर्माण गरिएको रानाको भनाई छ । पुल निर्माण कार्यक्रमले प्राथामीकता पाएर तिव्र गतिमा पुल निर्माण कार्य भईरहेको छ । आगामी दिनमा पनि जिल्लाका विभिन्न ठाउँमा झोलङ्गे पुल निर्माण गर्ने कार्यलाई तिव्रता दिने लक्ष्य रहेको बताएको छ । अर्काे बर्ष २० वटा झोलङ्गे पुन निर्माण गर्ने लक्ष्य राखिएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पहल पुनले जानकाकारी दिए ।
जिल्लामा १५ वटा पुल निर्माण गर्नको लागि रु २ करोड ५० लाख भन्दा वढि आर्थिक लगानी भएको उनले बताए । झोलङ्गे पुल निर्माण भएपछि जिल्लाका १५ भन्दा वढि गाविसका सर्वसाधारणहरु लाभान्वित भएको बताएको छ । खोलामा पुल निर्माण भएपछि महिला, बालबालिका, बृद्धाबृद्धि, लगायतलाई आवतजावत गर्न सहज भएको छ । विद्यार्थीलाई विद्यालय जान, किसानहरुलाई घास दाउरा ल्याउन पनि सहज भएको स्थानीयको भनाई रहेको छ । उपभोक्ता समिति मार्फत आयोजना निर्माण भएपछि स्थानीयको आर्थिक विकास समेत भएको जिससले दाबी गरेको छ ।