एमाले केन्द्रीय सदस्य एवं सांसद लिम्बुको निधन, अन्त्येष्टि आजै
प्रकाशित २०७४ असार ११ आइतबार
250
Shares
काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद् महिन लिम्बुको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएकी लिम्बुको आईतबार विहान धरानमा निधन भएको नेकपा एमालेले जनाएको छ ।
लामो समय नेकपा एमालेमा सक्रिय रहेकी लिम्बुको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए । उनको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गरिने भएको छ।
धनकुटास्थित साविकको बुढीमोरङ गाविस– २, तुमबारीमा २०१४ चैत ११ गते जन्मिनुभएकी लिम्बुले ०४९ सालमा गाविस उपाध्यक्षबाट आफ्नो राजनीतिक जीवनको सुरुवात गरेकी थिईन् । ०५४ सालमा गाविस अध्यक्ष निर्वाचित भएर जनताको सेवा गर्नुभएकी लिम्बुले ०५५ सालमा गाविस राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित देशभरका गाविसहरुलाई नीतिगत नेतृत्व प्रदान गरेकी थिईन्।
उता, नेकपा एमालेले लिम्बुको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । आईतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ती जारी गर्दै लिम्बुको निधनबाट पार्टीले एकजना अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको बताएका छन् ।
लिम्बुले ०५३ देखि ०६१ सालसम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र ०६२ सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गरेकी थिईन्् । साथै उनी ०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य र ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् भन् २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् ।