arrow

भारतलाई हतियार बनाउँदै अमेरिका !

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ असार १३ मंगलबार
trump.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गरेका छन्। अहिले मोदीले गरेको भ्रमण यसअघिको जस्तो सामान्य किसिमको भने छैन। यो भ्रमणले आगामी दिनमा अमेरिका र भारतको सम्बन्ध कसरी अघि बढ्छ र भारतको आगामी नीति कस्तो हुन्छ भन्ने कुराको निर्क्यौल गर्छ। भारतीय प्रधानमन्त्रीको भ्रमणलाई अमेरिकाले पनि महत्व दिएको छ। यसले पनि यो भ्रमण केही विशेष हुने देखिएको हो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुग्नुभन्दा दुई दिनअघि नै अमेरिकाले भारतले यसअघि मागेको ड्रोन खरिदको अनुमति प्रदान गरेको थियो। यो अमेरिकाले मोदीको लागि विच्छाएको रेड कार्पेट थियो। यसअघि भारतले प्रस्ताव गरेको ड्रोन खरिदको अनुमति पाउने वा नपाउने भन्ने विषयमा विभिन्न किसिमका आशंकाहरु रहेका थिए। अमेरिकाले मोदी भ्रमणअघि नै यस किसिमको निर्णय गर्नुले अमेरिका भारत फकाउने पक्षमा रहेको स्पष्ट देख्न सकिन्छ। अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्ने हो भने भारत र अमेरिकाको सम्बन्ध त्यति धेरै बलियो भने देखिँदैन। भारत र अमेरिकाको बीचमा विभिन्न कालखण्डमा विवादहरु पनि नदेखिएका होइनन्। पछिल्लो समय भने अमेरिका फेरि भारतसँग नजिक बन्न खोज्दैछ। 

अमेरिकाको उपस्थिति पछिल्लो समय मध्यपूर्वका केही मुलुकबाहेक अन्य क्षेत्रमा राम्रो रहन सकेको छैन। यस्तोमा कुनै न कुनै मुलुकको साथ लिई आफ्नो योजना यो क्षेत्रमा ल्याउने योजना अमेरिकाको रहेको थियो। यसै सम्बन्धमा गरिएको एक अमेरिकी अध्ययनमा पनि चीनलाई कमजोर बनाउन भारतलाई साथ लिएर अघि बढ्नु नै अमेरिकाको सबैभन्दा उत्तम विकल्प रहेको उल्लेख गरिएको थियो। पछिल्लो समय चीन आर्थिक हिसाबमा बलियो बन्दै गएको र अमेरिका रुचाउने मुलुकहरुको संख्या पनि घट्दै गएको कारण भारतसँग सम्बन्ध विस्तारमा अमेरिकाले चासो देखाएको हो। 

अमेरिका र भारतको सम्बन्धको चर्चा गर्दा जहिले पनि पाकिस्तानबाट सुरु गरिने गरिएको छ। अहिले  भएको सम्झौतामा पनि पाकिस्तानलाई केन्द्रमा राखिएको छ। यो अमेरिका र भारतको सम्बन्धमा कुनै नयाँ कुरा होइन। अमेरिकाले भारतसँग सोझै चीनको विषयमा कुरा गर्दैन अझ भनौँ अमेरिकाले भनेको भारतले मान्ने हो भने चीनको विषयमा कुरा गर्नु त्यति आवश्यक पनि छैन। चीन र भारतको सम्बन्ध त्यसै पनि राम्रो छैन। भारतलाई विश्वास दिलाउने उपाय पाकिस्तानको विरोध गर्ने हो। यदि पाकिस्तानको विषयमा नकारात्मक केही शब्दहरु बढी बोलिदिने हो भने भारतलाई फकाउन केही गाह्रो छैन भन्ने तथ्यलाई मोदीको अमेरिका भ्रमणमा ट्रम्पको प्रयोग गरेको देख्न सकिन्छ। 

त्यसो त कुनै दुई मुलकका नेताहरुको बीचमा वार्ता हुँदा किन चीन र पाकिस्तान बीचमा आए ? भन्ने प्रश्न पनि उठ्न सक्छ तर अमेरिकाको नियत भारतसँग सम्बन्ध विस्तार गरेर आर्थिक सुधारमा सहयोग गर्ने भने विल्कुल होइन। अमेरिकाको ध्यान भारतभन्दा पनि चीनमा छ। चीनलाई भारतको सहयोगले कमजोर बनाउन सकिन्छ भन्ने विवरण सार्वजनिक भएको केही दिनमा नै भारतीय प्रधानमन्त्रीको भ्रमणअघि भारत खुसी पार्ने योजनाहरु ल्याउनुले अमेरिकाको भारतसँग सम्बन्ध विस्तारको नियति के हो सहजै बुझ्न सकिन्छ।

अमेरिकाले यसअघि पनि भारतसँग सम्बन्ध विस्तारको क्रममा पनि आफ्नै स्वार्थ हेरेर पछि पाखा लगाएको इतिहास छ। अमेरिकाले मौका परेको खण्डमा पाकिस्तानलाई सहयोग गर्दै भारतलाई पाखा लगाएको इतिहास नभएको पनि होइन। अहिले पाकिस्तानसँग सम्बन्ध विस्तारको केही आधारहरु ट्रम्प आएसँग चुडिएको र उसको चीनसँगको सम्बन्ध बलियो रहेको कारण नै अमेरिकाले भारतलाई आफ्नो साथमा लिने निर्णय गरेको हो। 

भनिन्छ, शत्रुको शत्रु पनि मित्र हुन्छ। त्यस्तै अमेरिकाले पनि आफ्नो प्रतिद्वन्द्वी मुलुकको प्रतिद्वन्द्वीसँग मित्रताको हात अघि बढाएको हो। चीनलाई कमजोर बनाउनु अमेरिकाको लक्ष्य हो। चीनले पछिल्लो समय ल्याएको केही महत्वाकांक्षी योजनाहरुले अमेरिका तर्सिएको छ। यदि उसले यो योजनाहरु पूरा गरेको खण्डमा चीन अमेरिकाले जति प्रयास गरेपनि रोक्न नसक्ने अवस्थामा पुग्नेछ। साथै चीनको अहिलेको आर्थिक नीति विस्तार गर्ने किसिमको रहेको छ भने अमेरिकाको आर्थिक नीति बचाउ गर्ने रहेको छ।

चीन अहिले केही संवेदनशील विषयहरुमा उदार भएर अघि बढ्ने प्रयास गरिरहेको छ। यसले चीनको लोकप्रियता अमेरिकाको खस्किँदो लोकप्रियताको सामु चम्किँदै गएको देखिन्छ। जसको कारण चीनलाई कमजोर बनाएर उसलाई अघि बढ्न नदिने योजना अनुसार अमेरिकाले भारतलाई हतियारको रुपमा प्रयोग गरेको हो। 

चीन र भारतको बीचमा पछिल्लो समय चीनको सिल्क रोडको विषयमा कुरा मिल्न सकिरहेको छैन। यो सडक अमेरिका सकभर बन्न नदिने पक्षमा रहेको छ। नेपालले यो सडकमा केही समयअघि सम्झौता गर्दा केही भारतीय मिडियाहरुले यसलाई भारतलाई दिइएको धोकाको संज्ञा दिएका थिए। यसको अर्थ भारत पनि चीनको आर्थिक विकास चाहँदैन। त्यसैले अमेरिका र भारत एकापसमा मिल्न बाध्य भएका हुन्। 

अहिले अमेरिका र भारतको बीचमा भएको सम्झौताका विषयहरु पनि भारतलाई फकाउने किसिमका मात्रै छन्। अमेरिकाले सम्झौताको क्रममा मुम्बई आक्रमणको कुरा गर्दै पाकिस्तानलाई जोड्नुले भारतलाई फकाउने काम गरेको देख्न सकिन्छ। साथै अफगानिस्तानको विषयमा सकारात्मक करा गर्नुले पनि उसको कूटनीतिलाई बुझ्न कठिन पर्दैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ