पोखरा। पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ।
महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए।
ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उहाँले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताए।
“महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उहाँले भन्नुभयो, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं।”
उनका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ।
सहरमा पशुचौपाया छाडा छोड्ने प्रवृत्तिले समस्या आएकाले यसको तत्काल नियन्त्रणका लागि पहल गरिने उनले बताए। स्थानीय निकायलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी घोषणा गर्ने चर्चा गँर्दै उहाँले यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
श्रमजीवी पत्रकारका हक हितका लागि पनि महानगरका तर्फबाट केही सहयोग गर्ने सोच बनाइएको पनि नगरप्रमुख जिसीको भनाइ थियो।