arrow

कतारलाई शर्त पूरागर्न थप ४८ घन्टाको चेतावनी

logo
प्रकाशित २०७४ असार २० मंगलबार
qatar.jpg

रियाध। आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ देशहरुले कतारलाई दिएको भनिएको चेतावनीको समय थप ४८ घन्टा बढाइएको चार वटा गल्फ राष्ट्रले जनाएका छन्। कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको करिब महिना दिन पछि उनीहरुको यो प्रतिक्रिया आएको हो। विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन्।

उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार सम्मको समय दिएकोमा त्यो समयावधि बढाएर ४८ घन्टा पुर्याइएको उनीहरुले जनाएका छन्। साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले सोमबार कतारलाई यसअघि उनीहरुले राखेका शर्तहरु आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र उनीहरुले कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका हुन्।

कतारकाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन्। ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध नै तोडेको घोषणा गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन्।

उनीहरुले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो। यो सहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन्। दुई हप्ता अघि उनीहरुले राखेको यो शर्त पूरागर्न कतार अनिच्छुक छ।

उता कतारको साथमा टर्की रहेको बताउँदै आएको छ। टर्कीको सरकारी समाचार समिति अनादोलु समाचार समितिले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले यी कुनै पनि शर्त स्वीकार गर्नुहुदैन।

उता इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने शर्त राखिएको भए पनि कतारलाई इरानले खाद्यान्न लगायतका सामाग्रीहरु पठाइरहेको समाचार पनि आएका छन्।

कतारमाथि यस्तो प्रतिबन्ध लागेको हप्ता दिनपछि चारवटा गल्फ देशले कतारमाथि शर्त राखेका थिए । कतार समस्याको समाधानका लागि भन्दै कुवेतले मध्यस्थता गरिरहेको छ। सोमबार पनि कुवेतमार्फत नै गल्फले यी शर्त राखेका हुन्।

टर्कीस् राष्ट्रपति रिसेपले कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनबिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा गल्फले कतारमाथि नाजायज शर्त राखेका बताएका छन्।

ती चार देशले गत जुन २३ मा विभिन्न १३ बुँदे शर्त राखेका थिए। उनीहरुले अल जाजिरा टिभीको प्रशारण बन्द गर्नुपर्ने, इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने जस्ता शर्त राखेका छन्।

कुवेतमार्फत शर्त राखेका उनीहरुले सोमबार पनि उसैमार्फत सोमबार थप ४८ घन्टाको चेतावनी कतारलाई दिएका हुन्। तर ती शर्तहरुप्रति कतार भने सहमत नभएको बताएको छ। उसले आफूलाई ती शर्तहरु मान्य नभएको जनाएको छ। रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ