arrow

कतारको कूटनीतिक सम्बन्ध सुधारमा अल जजिरा बन्द निर्विकल्प

logo
प्रकाशित २०७४ असार २० मंगलबार
alljajira.png

कुवेत । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । 

कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप ४८ घन्टाको समय कतारलाई दिएको थियो । कतारले ती शर्तका सम्बन्धमा मङ्गलबार आफ्नो जवाफ कुवेतसमक्ष पठाएको समाचारमा जनाइएको छ । 

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह रहिमले आज सो जवाफ लेखिएको हस्तलिखित पत्र कुवेतका विदेशमन्त्री शेख सबाह अल अहमद अल जाबेरलाई हस्तान्तरण गरेका  छन् । कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजालाई मङ्गलबारै हस्तान्तरण गरिएको पनि समाचारमा जनाइएको छ । 

कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । सोमबार सो शर्त पूरागर्ने समय सकिएपछि उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार उक्त चेतावनीको समय ४८ घन्टा थप गरेका थिए । यसअघिका शर्त आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा भने केही बताएका थिएनन् । 

कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । त्यसैले कतारका राजाले कुवेतका राजालाई सो पत्र पठाएका र त्यसमा आफ्नो सरकारलाई लगाइएको नाकाबन्दी र त्यसको समाधानका लागि राखिएका पछिल्लो शर्तहरुको जवाफ पठाइएको छ । त्यसमा कतारले के जवाफ लेखेको छ भन्ने बारेमा भने अहिले नै केही बताइएको छैन । सम्भवत यो सङ्कट समाधानका लागि कतारले शर्तहरु मान्ने बारेमा सो पत्रमा लेखिएको अनुमान गरिएको छ । 

कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध तोडेका साउदी अरेबियासहितका देशले पछिल्लो समयमा कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन् । उनीहरुले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने अर्का शर्त हो । दुई हप्ता अघि उनीहरुले राखेको यो शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ । 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक बुधबारका लागि आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग यस बारेमा छलफल गर्ने जनाएको हो । इजिप्टको राजधानी कायरोमा इजिप्टसहित चार देशका विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । बैठकको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रालयले जानकारी दिएको छ । इजिप्टको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा सो बैठकमा कतार सङ्कटको वर्तमान अवस्था र यसको समाधानका बारेमा छलफल हुने जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ