राजपा नेताहरु भन्छन्–‘मुलुक टुक्र्याउन होइन बचाउन’
प्रकाशित २०७४ असार २६ सोमबार
620
Shares
काठमाडौं । संविधानप्रति असन्तुष्ट संघीय लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई ११ बुँदे माग पेश गर्दा उठाएको ‘बहुराष्ट्रिय राज्य’को माग फेरि उठेको छ । अहिले ६ दल एकिकृत भएर बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले निर्वाचन आयोगमा दल दर्ता गर्न भनि दिएको आवेदनसँगै बुझाएको अन्तरिम विधानमा बहुराष्ट्रिय राज्यको माग राखिएको छ ।
राजपाको अध्यक्षमण्डलबाट पारित विधानको प्रस्तावनामै ‘नेपाल एक विविधतायुक्त, बहुराष्ट्रिय, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको मुलुक’ भनिएको छ । विधानकै अर्को खण्डमा, ‘एकताबद्ध भएका ६ पार्टीको एकतालाई मूर्त रूप दिन, तिनको स्वामित्वलाई ग्रहण गर्दै एकताको मूल मर्म–भावना एकीकृत रूपमा विकसित गर्ने र देशको सार्वभौमिकता, एकता, बहुराष्ट्रियता जोगाउन सधैं प्रयत्नशील रहने उद्देश्य राखी राजपा स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ, –भन्ने उल्लेख छ ।
राजपाले राखेको बहुराष्ट्रिय शब्द नेपालको संविधासँग भने मेल खाँदैन । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भोगोलिक विधिततायुक्त समाज निर्माणको संकल्प लिएको छ । नेपालको संविधानमा बहुराष्ट्रिय शब्द उल्लेख छैन । तर, राजपाले संविधानमा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक शब्दलाई नै बहुराष्ट्रिय परिभाषित गरेको छ । राजपाका नेताहरुले बहुजातीय भन्नु र बहुराष्ट्रिय भन्नु एउटै हो, बहुराष्ट्रिय भन्ने वित्तिकै छुट्टै मुलुक भनेर बुझ्नु हुँदैन,–भनेका छन् । हामीले छुट्टै मुलुक भन्न खोजेका होइनौँ, एउटै राष्ट्रभित्र विभिन्न राष्ट्रियता झल्किनु पर्दछ भनेका हौँ ।
के आधारमा बहुराष्ट्रिय राज्य भन्नु भा हो ?
राजपा अध्यक्षमण्डलका एक सदस्य राजकिशोर यादवले भने, ‘पूर्ण संघीयताको दृष्टिकोणबाट हामीले बहुराष्ट्रिय शब्द राखेका हौँ । राष्ट्र र राष्ट्रियता भन्ने वित्तिकै भूगोल, जनसंख्या, भाषा संस्कृति सबै आउँछ । हाम्रो देशमा विभिन्न भाषा संस्कृति र जातजाती छन् ।’ हामीले मल्टिनेशनको अवधारणाबाट कुरा गरेका हौँ ।
नेता यादवले १० प्रदेशको अवधारणा जुन थियो । त्यो पनि बहुराष्ट्रियता नै हो । जहाँ लिम्बूवान्, तमुवान्, मगरात पनि भनिएको थियो । खाली मधेस मात्रै भनिएको थिएन, भने ।
स्थानीय स्वशासन विज्ञहरुले भने झैँ नेता यादवले समेत आफुहरुले अटोनोमी अर्थात् सेल्फरोल खोजेको बताए । अर्को शब्दमा भन्दा स्वायत्तता र पहिचानसहितको पूर्ण संघीयता खोजेका हौँ, उनले थपे, ‘हाम्रो मागलाई देश टुक्र्याउने भन्नेहरुले पूर्ण संघीयता चाहेका छन् वा छैनन् भन्नेतिर शंका गर्नुस् । हामीलाई शंका गर्ने ठाउँमा संघीय गणतन्त्रको अवधारणा बोकेको संविधान जारी गर्नेहरुलाई शंका गर्नुस् ।’
हामीले उठाएको बहुराष्ट्रियको मुद्दा पछिल्लो समय विश्वव्यापी रुपमा आएको अवधारणा हो, यादवले अगाडि भनेका छन्, ‘यसले मात्रै देशलाई बचाउन सक्छ । अपनत्व लिने व्यवस्थामा गएनौ र जनताको भावना अनुसार चलेनौँ भने हामी विकास र समृद्धि सोच्न सक्दैनौँ ।’ जनतालाई अधिकार दियौँ भनेर मात्र हुँदैन । स्वायत्त भएको अनुभूति दिलाउनु पर्दछ, नेता यादवले भने । उनले फेरि पनि भने, ‘मुलुक बचाउने उपाय यही मात्र हो ।’
तपाईहरुले खोजेको जातीय संघीयताले झन् मुलुक कसरी बचाउला ? जवाफमा उनले भने, ‘हामी संकुचनले गाँजिएका छौँ । अधिकार प्राप्तिका लागि सशस्त्र युद्ध भएको होइन ? विभिन्न चरणमा आन्दोलनहरु भएका होइनन् ? दुई–दुई पटक संविधान सभाको निर्वाचन भएको होइन ?’ सय वर्ष अघि बनेका संविधान समेत कयौँ गतिशील भइसके । हामी संकुचनका कारण अहिलेसम्म गरिब का गरिब नै छौँ ।
संविधानमा हुँदै नभएको शब्द राख्दा भोलि विधान संशोधन गर्नु पर्दैन
नेता यादवले संविधान गतिशील दस्तावेज भएकाले संविधानमा उल्लेख नभएको कुरा हुँदै हुँदैन भन्ने पनि कँही हुन्छ ? भन्दै प्रतिप्रश्न गरे ।
नेता यादवले बहुराष्ट्रियता अहिलेको आवश्यकता हो, बरु संविधान करेक्सन गर्न सकिन्छ, भने । संघीयतामा जान खोज्ने अनि अधिकार दिन डराउने ? हामीले नेशन भनेका हौँ, नेशन भनेको जाती हो, जाती भनेको राष्ट्रियता हो
राजपाका अर्का नेता वृशेषचन्द्र लालले संविधानमा भएको बहुजातीय नै बहुराष्ट्रिय हो, भनेका छन् । उनले भने, ‘हामीले नेशनका आधारमा भनेका होँ । नेशन भनेको जातीय हो । जातीयता भनेको राष्ट्रियता हो । यहाँ जातीय भनेको काष्ट होइन । जातीयलाई काष्टसँग जोड्न भिल्दैन । बाहुन, क्षेत्री, खस भने जस्तो होइन ।’
नेशनलाई हामीले राष्ट्रियता भनेका छौँ । राष्ट्रियता भन्ने वित्तिकै भाषा, भूगोल, इतिहास र संस्कृतिको कुरा आउँछ नै । हामीले पहिचान सहितको संघीयता खोजेका हौँ ।
यद्यपि, संविधान अध्येयताहरुले जातीय संघीयता भएको मूलुक बहुराष्ट्रिय राज्य हो, भनेका छन् । उनीहरुले नेपालको हकमा जातीय संघीयता सम्भव छैन पनि भनेका छन् । नेपालमा एउटा जातीको बर्चश्व छैन । नेपालमा मधेसी नेताहरुले भने जस्तो तीनवटा मात्रै छैनन् । ति समुदायभित्र समेत अनेकौं जात जाति छन् । तिनिहरुबीचमा आपसी तालमेल छैन ।
‘बहुराष्ट्रिय राज्य’को अर्थ
साधारणतया अंग्रेजी मल्टिनेशन स्टेटको सोझै नेपाली अनुबाद गर्नेले ‘बहुराष्ट्रिय राज्य’ भन्दछन् । तर, यसको खास अर्थ बहुजातीय हुन्छ । बंगाली भाषामा नेशनको अर्थ जातीय भन्ने हुन्छ । नेशन भनेको जाती हो । बहुजातीय राज्यलाई धेरै जाती भएको मुलुक भन्ने गरिन्छ । विकिपिडियाले मल्टिनेशनलाई बहुसाँस्कृतिक र बहुधार्मीक भनेको छ ।