राजकुमार हत्या काण्ड : अपहरणका मूख्य योजनाकार बाबु छोरी भारतबाट पक्राउ
प्रकाशित २०७४ असार २७ मंगलबार
954
Shares
दाङ । तुलसीपुरका प्रतिष्ठीत व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा संलग्न तीन जना भारतको हिमाञ्चलबाट पक्राउ परेका छन् ।
व्यवसायी श्रेष्ठको अपहरणमा मुख्य भुमिका निभाउने तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडाकी पूजा घर्ती, उनकै बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान झिम्पे ४ का मानबहादुर भण्डारी पक्राउ परेका दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले बताए ।
प्रहरीले घटना घटेको झण्डै १ महिना पछि भारतको हिमाञ्चलबाट मूख्य योजनाकारलाई पक्राउ गरेको हो । श्रेष्ठको अपहरण भएको २१ दिन पछि शव भेटिएको थियो । व्यापारी श्रेष्ठ गत जेठ २६ गते तुलसीपुरबाट अपहरणमा परेका थिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ । जेठ २६ गते पूजाले फोन गरेर बोलाएपछि उनीहरुको टोलीले श्रेष्ठलाई अपहरण गरी सल्यान पुर्याएका थिए ।
अपहरणमा परेको २१ दिनपछि सल्यानकै छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा श्रेष्ठको शव भेटिएको थियो । उनको अपहरण भएको तीन दिनपछि नै हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तुलसीपुरका कपडा व्यपारी श्रेष्ठसँग अपहरणकारीले तीन करोड फिरौती मागेका परिवारले जनाएको छ ।