बालुवाटार गफ : राजपालाई सत्ताधारीले भने–चुनावमा आउँछौँ भनेर भन्नुस्
संशोधनको वातावरण बनाउन राजपा आफै लाग्ने
प्रकाशित २०७४ असार २७ मंगलबार
1k
Shares
काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी राजपालाई संविधान संशोधन विधेयक अघि बढाउन तयार रहेको आश्वासन दिँदै तेस्रो चरणको चुनावमा सहभागि हुन्छाैँ भनि प्रतिवद्धता गर्न प्रस्ताव गरेको छ ।
काँग्रेस र माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीत मंगलबार साँझ बाुवाटारमा भएको छलफलमा सरकारले यस्तो प्रस्ताव राखेको हो ।
राजपाका नेताहरुसँग भएको छलफल अघि सत्तारुढ दलका नेताले विहान प्रमुख विपक्षी एमालेसँग कुराकानी गरेका थिए । राजपा सँगको बैठकमा सत्तारुढ दलका नेताले एमालेसँग भएको कुराकानीबारे पनि गफ गरे ।
एमाले छलफलका लागि सकारात्मक रहेको तर, संविधान संशोधन विधेयकको अन्तर्वस्तुमा भने छलफल गर्न बाँकी रहेको नेताहरुले राजपा नेतालाई सुनाएका छन् ।
बैठकमा सहभागि राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने बैठकमा खासै महत्वपूर्ण कुनै कुरा नभएको बताए । हाम्राकुरासँग उनले भने, ‘सत्तारुढ दलकोतर्फबाट संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रयास जारी प्रतिवद्धता आएको छ । हामीले पनि आफुले आवश्यक ठानेका दलहरुसँग छलफल गर्ने र संविधान संशोधनको वातावरण बनाउने भनेका छौँ ।’ सत्तारुढ दलकोतर्फबाट तेस्रो चरणमा सहभागि हुने प्रतिवद्धता चाहियो भन्ने प्रस्ताव आएको नेता महतोले बताए ।
उनले एमालेसँग राजपाले सम्बन्ध गाँस्न लागेको कुरा घुमाउरो भाषामा स्वीकारेका छन् । नेता महतोले भने, ‘एमालेसँग सम्बन्ध गाँस्ने कुरा आएको छैन । हामी जहाँ–जहाँ आवश्यकता हुँन्छ । त्यहाँ त्यहाँ छलफल गर्छौ ।’
राजपाका नेताहरुले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन आफूहरु सकारात्मक रहे पनि संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आफ्ना नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता, २ नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप लगायतका विषयमा सरकार थप लचिलो हुनुपर्ने अडान राखे । बैठकले थप छलफल गरेर संविधान संशोधन विधेयकबारे निर्णय गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए ।