रानीबारी हत्या काण्डका दोषी दुई जनालाई सर्वस्वसहित जन्मकैद
प्रकाशित २०७४ असार २८ बुधबार
727
Shares
काठमाडौं । जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई १५ वर्षपछि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने एक इन्जिनियर दम्पतिको हत्यामा संलग्न अभियुक्त नवराज गुरुङ र प्रमेश चौहानलाई जिल्ला अदालत काठमाडौंले यस्तो फैसला सुनाएको हो । १५ वर्ष अघि भएको हत्याका अभियुक्त दुई वर्षअघि मात्रै पक्राउ परेका थिए ।
हेमबहादुर श्रेष्ठ र धर्म पत्नी अन्जली श्रेष्ठलाई खुकुरी प्रहर गरि हत्या गरेको भन्दै रामेछाप जिल्ला फुलासी –३ स्थानीय ठेगाना रही जोरपाटी बस्ने ३२ वर्षीय प्रमेश चौहान र दोलखा खारे गाविस–३ (सामाखुसी बस्ने)का ३० वर्षीय मनराज गुरूङलाई अभियोग दावी अनुसार सजाय सुनाएको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो । जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले वुधबार सर्वस्वसहितको जन्मकैद सुनाएको हो ।
चौहान र गुरुङ अहिले केन्द्रीय कारागारमा छन् । मृतक अन्जनाका दाई ज्ञानेन्द्र प्रधानले १५ वर्ष पछि भएपनि हत्यारालाई सजाय भएपछि आफ्नो परिवारले न्याय पाएको महसुस गरेको बताएका छन् ।
२०६९ साल असार ३१ गते विहान ६ बजेतिर चौहान र गुरुङ श्रेष्ठ दम्पतिलाई नभई घरबेटी गीता खड्कालाई मार्न पुगेकाहरुले अन्धाधुन्द श्रेष्ठ दम्पतीलाई खुकुरी प्रहार गरी विभत्स हत्या गरेका थिए ।