राजपाले विधानबाट ‘बहुराष्ट्रिय राज्य’ हटायो, आयोगले भन्यो -संविधानसँग मिलेन
राजपामा ८ सय १५ जनाको केन्द्रीय समिति
प्रकाशित २०७४ असार २८ बुधबार
244
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले आफ्नो विधान संशोधन गरेको छ । निर्वाचन आयोगले पार्टीको प्रस्तावनामा केही शब्द नेपालको संविधान र ऐन कानुनसँग मेल नखाने भन्दै संशोधन गर्न भनेपछि राजपाले मुख्य गरेर ‘बहुराष्ट्रिय राज्य’ भन्ने शब्द हटाएको छ ।
राजपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको आवेदनसँगै बुझाएको अन्तरिम विधानमा ‘बहुराष्ट्रिय राज्य’ राखिएको थियो । आयोग पदाधिकारीले संविधान र ऐन कानुसँग मेल नखाने तथा आफुहरुलाई अफ्ठ्यारो पर्ने भनेपछि राजपाले त्यो शब्दावली नै हटाइदिएको हो ।
राजपाको अध्यक्षमण्डलबाट पारित अन्तरिम विधानको प्रस्तावनामै ‘नेपाल एक विविधतायुक्त, बहुराष्ट्रिय, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको मुलुक’ भनिएको थियो । वधानकै अर्को खण्डमा, ‘एकताबद्ध भएका ६ पार्टीको एकतालाई मूर्त रूप दिन, तिनको स्वामित्वलाई ग्रहण गर्दै एकताको मूल मर्म–भावना एकीकृत रूपमा विकसित गर्ने र देशको सार्वभौमिकता, एकता, बहुराष्ट्रियता जोगाउन सधैं प्रयत्नशील रहने उद्देश्य राखी राजपा स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ, –भन्ने उल्लेख थियो ।
राजपाका एक शीर्ष नेताले भने, ‘हामीले आफैले त्यो शब्द हटाइदियौँ । यद्यपि, यसको अनर्थ नलागोस् । यसलाई अतिरञ्जित नगरियोस् । हामीले विधान संशोधन गर्नु पर्ने शब्दहरु संशोधन गरेका छौँ ।’ निर्वाचन आयोगले संविधान अनुरुप नेपाल पहिचानसहितको एउटामात्रै राष्ट्र भएकाले राजपालाई विधानको प्रस्तावना संशोधन गर्न भनेको थियो । यसअघि राप्रपाको हिन्दु राष्ट्रको मुद्दा संविधानसँग मेल नखाएपछि आयोगले विधान सच्याउनु पर्ने निर्णय गरेको थियो ।
राजपाले राखेको बहुराष्ट्रिय शब्द नेपालको संविधासँग मिलेको थिएन । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भोगोलिक विधिततायुक्त समाज निर्माणको संकल्प लिएको छ । नेपालको संविधानमा बहुराष्ट्रिय शब्द उल्लेख छैन । तर, राजपाले नेशनका आधारमा भन्दै संविधानमा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक शब्दलाई नै बहुराष्ट्रिय परिभाषित गरेको थियो । राजपा नेताले फेरि पनि भने, ‘हामीले नेशनका आधारमा भनेका थियौँ । यसलाई अन्यथा अर्थ नलाइदिनु होला ।’ यस्तै, राजपाले नवीकरणको विषय पनि सच्याएको छ ।
८ सय १५ जनाको केन्द्रीय समिति
विभिन्न ६ दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी राजपाले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । एकिकृत हुनुपूर्वको तमलोपा, सदभावना, रामसपा, तमसपा, नेसपा र फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य र पदाधिकारीहरु एकिकृत पार्टीमा उही पदमा कायम राखिएको राजपा नेताले बताएका छन् । पदाधिकारीको संख्या १ सय ३४ पुगेको बताइएको छ ।
अहिले तत्काललाई अध्यक्ष मण्डललाई नै अकिारी दिइएको राजपा नेता वृशेषचन्द्र लालले बताए । उनले भने, ‘अहिले अध्यक्ष मण्डलाई जिम्मा दिइएको छ । पछि स्थायी कमिटी र अन्य कमिटी बनाउने भनिएको छ ।’ अहिलेको ध्येय पार्टी दर्ता नै हो । पार्टी दर्तापछि विभिन्न कामहरु सुरु हुन्छन् ।
नेता लालले दल दर्ताको प्रकृयाको क्रममा अपुग कागजात सबै बुभाएका छौँ, अब केही बाँकी छैन, भने । वुधबार राजपा नेताहरुले अन्य कागजातका साथ पार्टीको केन्द्रीय सदस्यहरुको नामावली बुझाए ।
राजपाका शीर्ष नेताहरु आयोगमा एक साता भित्र दोस्रोपटक पुगेका हुन् । ६ मधेसवादी घटक एकीकृत भएर गएको वैशाख ८ गते राजपा पार्टी गठन भएको थियो ।
राजपाको अध्यक्षमण्डलका सदस्य अनिल झाले एकीकरणपछिको दल दर्ताका लागि आयोगले मागेका सबै कागजातहरु बुझाइएको बताए । आयोगले विभिन्न ६ प्रकारका कागजात राजपासँग मागेको थियो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजपाले बुझाएको कागजातहरुको अध्ययन गरी प्रक्रिया पूगे नपुगेको हेरफेर गरेर जतिसक्दो छिटो दल दर्ता गरिने बताए ।
राजपाले चुनावका लागि छाता चुनाव चिह्न माग गरेको छ । कानुन अनुसार असार मसान्त भित्र राजपाले दल दर्ताको प्रमाणपत्र पाए मात्र आगामी निर्वाचनहरुमा राजपाको हैसितले चुनावमा भाग लिन पाउने छ ।