काठमाडौँ । नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको निधन भएको छ ।
दम र निमोनियाको उपचारमा रहेका नेता जोशीको बिहीबार साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए ।
घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए ।
नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनी अविवाहित थिए ।
आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा परेका उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।
काँग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस