arrow

ट्रम्प फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
tramp-aa.jpeg

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै छन् । 

फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने सो परेडलाई विशेष परेडका रुपमा लिइन्छ । राष्ट्रिय दिवसका अवसरमा यहाँ विशेष कार्यक्रमको अयोजना गर्ने गरिएको छ । 

फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्प बिहिबार फ्रान्स पुगेका छन् । उनले सो भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्ने भएको बताइएको छ । 

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिने एक विशेष कार्यक्रममा उनलाई सम्मानस्वरुप प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सो पर्वका लागि   ट्रम्प फ्रान्स गएका  बताइएको छ । फ्रान्सको राष्ट्रिय दिवस जुलाई १४ मा पर्दछ । यस दिवसको अवसरमा आज पेरिसमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

विशेष समारोहमा सैनिकले हेलिकोप्टरबाट पुष्पबृष्टि गर्नुका साथै विभिन्न कलाकौशल प्रदर्शन गर्ने गर्दछन् । यस्तो कला कौशलको अवलोकनका लागि फ्रान्सले बर्षेनी कुनै न कुनै देशका प्रधानमन्त्री वा राष्ट्रपतिलाई विशेष अतिथिका रुपमा आमन्त्रण गर्ने गर्दछ । 

उता आज नै फ्रान्समा गतवर्ष भएको आतङ्ककारी हमलाको बार्षिकी पनि परेको छ । गत बर्ष आजकै दिन फ्रान्सको निस सहरमा भएको आतङ्ककारी हमलामा कैयौँ नागरिकको ज्यान गएको थियो । सो समारोहमा पनि उनीहरु उपस्थित हुने भएका हुन्नछ । उनीहरुले उक्त हमला भएको घटनास्थलमा गएर मृतकहरुप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको पेरिसबाट प्राप्त एक समाचारमा जनाइएको छ । 

फ्रान्सेली राष्ट्रपति ३९ बर्षीय म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विशेष स्वागत गरेको करिब छ हप्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो देशमा विशेष स्वागत गर्दै छन् । फ्रान्स र अमेरिकी सम्बन्धमा केही समयअघिदेखि उतार चढाव आइरहेको बताइएको थियो । फ्रान्सको पेरिसमा गतवर्ष सम्पन्न पेरिस सम्झौतामा अमेरिकाको विरोध रह्यो । सोही कारण पनि अमेरिकाको विरोध भएको थियो । 

बिहीबार राष्ट्रपति म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो अवसरमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले शुक्रबार बिशेष समारोहको आयोजना हुने र त्यसको अवलोकनका लागि आफू पनि निकै उत्सुक रहेको बताएका थिए । 

त्यसैगरी उनले अमेरिका र फ्रान्सबीचको सम्बन्ध निकै राम्रो भएको जनाएका थिए । उनले भने ‘हामीबीच स्वतन्त्रताको प्राप्तिका लागि गरिएका विविध क्रान्ति र सङ्घर्षका कथाहरु जोडिएको विशेष सम्बन्ध छ, हामी असल र हितैषी राष्ट्र हौँ ।’

फ्रान्सको गृह मन्त्रालयले दिएको जानकारी अनुसार यस विशेष सामारोहलाई थप आकर्षक र विशेष बनाउन कम्तीमा पनि १ लाख ३० हजार जना प्रहरी खटाइएको छ । फ्रान्समा गएका केही बर्षयतादेखि आतङ्ककारी हमला हुने गरेको छ । सन् २०१५ देखि गरिएका यी हमलामा परी दुई सय भन्दा बढीको ज्यान गएको छ । 

गत बर्ष निसमा भएको हमलामा परी ८६ जनाको ज्यान गएको थियो भने अरु कैयौँ व्यक्ति घाइते भएका थिए । आतङ्ककारीले ट्रकमा विस्फोटक पदार्थ राखी आक्रमण गरेको थियो । 

त्यसैगरी दुई बर्षअघि पनि पेरिसमा रहेको एक पत्रिका चार्ली एब्दोमा गरिएको आतङ्ककारी हमलामा त्यस पत्रिकाका सम्पादक सहितका व्यक्तिको ज्यान गएको थियो । यी सबै आक्रमणहरुको आइएसले जिम्मा लिएको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ