- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेइजिङ । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ ।
लामो समयदेखि जेल जीवन बिताएका नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार ६१ वर्षको उमेरमा निधन भएपछि विश्व समुदायमा विभिन्न टिकाटिप्पणीहरु आएका छन् । यी सबै टिकाटिप्पणीहरुको खण्डन गर्दै चीनले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकोले कुनै पनि टिप्पणी नगर्न सबैलाई आग्रह गरेको हो । विश्वका कतिपय देशले लिउको उपचार चीनले राम्रोसँग नगरेको र पचारका लागि विदेश जान पनि नदिएको बताएका छन् ।
कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अगाडि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दबाबपछि जेलमुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर उनको उपचारमा त्यति ध्यान नदिइएको विश्व समुदायको भनाई आएको छ । उत्तरपूर्वी चिनियाँ प्रान्त सेन्याङमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । उनलाई तीनदिनदेखि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
श्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो र बिहीबार साँझ नै उनको निधन भएको खबर सो अस्पतालले सार्वजनिक गरेको हो । चीनले उनको उपचारमा कुनै कसर बाँकी नराखी राम्रोसँग गरिएको बताएको छ । यस विषयमा विदेशीहरुबाट आएका प्रतिक्रियाहरु कुनै पनि साँचो नभएको चीनले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङले भने ‘चीन कानुनी शासन भएको देश हो र लिउ जियाओबोका विषयमा गरिएका सबै खाले टिकाटिप्पणीहरु हाम्रा आफ्ना आन्तरिक मामिलाका कुरा हुन् ।’ चीनको शासन व्यवस्थाको पुनःसंरचना गरी आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने माग सहितको अभियान उनले चालेका थिए। त्यसपछि उनी चीन सरकारको तारो बनेका हुन् ।
जियाओबोलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा उनलाई ११ वर्षे जेल सजाय सुनाइयो । उनी त्यसयतादेखि नै काराबासको सजायमा रहिरहेका थिए । चीन सरकारको जेलमै भएका बेला सन् २०१० मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । त्यसपछि भने उनीमाथि सरकारको थप निगरानी सुरु भएको थियो । त्यस पुरस्कार प्राप्त गर्नका लागि मात्र भए पनि उहाँलाई जेलमुक्त गर्न भनिए पनि सरकारले दिएको थिएन ।
विदेश मन्त्रालयका प्रवक्ता सुआङले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकोले उनी एकजना व्यक्तिलाई अघि सारेर कुनै पनि विरोधी प्रतिक्रिया नदिन पनि विश्व समुदायलाई आग्रह गर्नुभएको बताएका छन् ।एएफपी