arrow

नागार्जुनको बजेट ६४ करोडःवातावरणमैत्री नगरपालिका निर्माण उच्च प्राथमिकतामा

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
Nagarjun_Nagarpalika.png

काठमाडौं । नागार्जुन नगरपालिकाले रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । चालू खर्च रु २१ करोड ६९ लाख ९० हजार, पूँजीगत खर्च रु २३ करोड ५३ लाख, समपूरक कोष रु चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु १५ करोड बजेट रहेको छ । 

नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता कायम हुँदै गएकाले अब विकास गर्नका लागि प्रत्येक स्थानीय तहले योजना बनाउनुपर्ने बताए । उनले भने – “तपाईंहरु जनताको भोटबाट जितेका प्रतिनिधि हुनुहुन्छ, जनताको चाहना र भावनालाई प्राथमिकतामा राखेर काम गर्नुहोस् ।” 

नेता सिंहले नगरपालिकाको विकासका लागि गुरुयोजना तयार गरेर अगाडि बढेमात्र विकास हुने भन्दै नगरपालिका विकासको गुरुयोजना बनाउन आग्रह गरे । 

सांसद ध्यानगोविन्द रञ्जितले नगरपालिकाका लागि छुट्याएको बजेट सही ठाउँमा प्रयोग गर्नुपर्ने बताए । उनले साउन १ गतेदेखि नै बजेट लागू हुने भन्दै विकासको काममा ढिला नगर्न आग्रह गरेका छन । 

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालनका लागि नगरपालिकाको बजेटले विशेष कार्यक्रम ल्याएको बताए । उपप्रमुख सुशीला अधिकारीले नगरपालिकालाई नमूना नगरपालिका निर्माण गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताईन् । नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ । 

यस्तै सुशासन कायम, स्विजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ