किर्ते कागजपत्र बनाई सवारीसाधनको अवैध बिक्री गर्ने पक्राउ
ईश्वर बडू ।
प्रकाशित २०७४ असार ३० शुक्रबार
570
Shares
कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले नक्कली कागजपत्र र दस्तखत किर्ते गरी सवारी साधन दर्ता गराई बेच्ने २ जनालाई पक्राउ गरेको छ । कैलाली जिल्ला भजनी ३ बस्ने ३७ बर्षीय गोकुल प्रसाद श्रेष्ठ र दार्चूला जिल्ला हिकिला ८ घर भई भि.न.पा ४ कंचनपुर बस्ने २५ वर्षीय हिमाल जोशीलाई असार २९ गते प्रहरी नायव उपरीक्षक भीम प्रसाद दाहाल नेतृत्वको टोलीले नक्कली कागजपत्र र दस्तखत किर्ते गरी सवारीसाधन दर्ता गराएको आरोपमा पक्राउ गरेको हो ।
कञ्चनपुर जिल्लाका प्रहरी नायव उपरीक्षक भीम बहादुर दाहालले ८ ओटा चारपांग्रे गाडी र २२ ओटा मोटरसाइकल बरामद गरिएको बताउनुका साथै उक्त गिरोहबाट १लाख नगद, २ ओटा ल्यापटप, १ ओटा सुनको सिक्री र नक्कली होलोग्राम र सिरियल नं. सहितका सवारी दर्ता प्रमाण पत्र १० ओटा पक्राउ गरेको छ । नक्कली सरकारी कागजात दस्तखत किर्ते गरी सवारी साधनहरु दर्ता गराउने गरेको भन्ने सुचनाको आधारमा निजहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायव उपरीक्षक भीम प्रसाद दाहालले बताए ।
सरकारी कागज, छाप कृते गरी महाकाली अञ्चल यातायात कार्यालयबाट दर्ता गराएका जिप कार तथा मोटरसाइकलहरु सेती अञ्चल यातायात कार्यालबाट पुनः दर्ता गराई अर्को नम्बर निकालेर बेच्ने गरेको समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस्तै राजश्व अनुसन्धान मध्यमाञ्चल कार्यालय तथा पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारा र छोटी भंसार कार्यालय गुलरिया बर्दियाबाट लिलाम सकार गरेको कागजात सुचना र अन्य नक्कली कागजात बनाई सवारी साधनहरु महाकाली र सेती यातायात कार्यालयमा विभिन्न मितिमा दर्ता गराई विक्रि गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएको छ ।
होलोग्राम र सिरियल नं. सहितका सवारी दर्ता प्रमाण पत्र तथा दस्तखत समेत भेटिनुबाट यातायात कार्यालयको संलग्नता रहेको समेत हुनसक्ने प्रहरीको आशंका छ । २ जनालाई पक्राउ गरिसकेको र थप अनुसन्धानका लागि प्रहरी खटाईसकेकोले यसको अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुले चारपाङ्ग्रे गाडीहरू ८ देखि १० खाल सम्ममा भारतवाट मगाउने र १० देखि २५ लाख सम्ममा नेपालमा विक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ। रोयल ईनफिल्ड कम्पनीका मोटरसाईकलहरू ७० हजार देखि १ लाख सम्ममा खरिद गरि ३ लाख सम्ममा विक्रि गर्ने गरेको अनुसन्धान टोलीका प्रमुख प्रहरी नायव उपरीक्षक भीम वहादुर दाहालले बताए ।
यस घटनामा भारतीय नागरिकहरुको संलग्नता रहेको प्रहरीको आशंका छ । भारतीय तस्करहरूसँग सम्वन्ध राखि चोरीका सवारी साधनहरु कम मुल्यमा खरिद गरि ल्याउने र भन्सार लिलामीका भएको भनी नक्कली कागजातहरू पेश गरी छोटी भंसार कार्यालय गुलरिया, पथलैया भंसार कार्यालयको नाममा किर्ते बनाई यायायात व्यवस्था कार्यालय महाकाली तथा सेती कार्यालयका कर्मचारीसँग मिलोमतो गरी यातायात कार्यालयको अभिलेखमा दर्ता गरी महंगो मुल्यका सवारी साधनहरू सस्तो मुल्यमा बिक्रि गर्ने गरेको छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुवै जनाका नाममा मुद्दा दर्ता गराएर कारबाही प्रकृया अघि बढेको जनाएको छ ।